मकवानपुर । साहित्यकार श्यामदास वैष्णवको काठमाडाै ज्ञानेश्वरमा निधन भएको छ । ९६ बर्षका वैष्णवकाे शुक्रबार साँझ ७ बजे आफ्नै निवासमा निधन भएकाे हाे । वैष्णव २०७२ सालदेखि मनोरोगकाे कारण हिँडडुल गर्न नसक्ने अवस्थामा थिए । स्वास्थ्य समस्याकाे कारण उनी घरमै आराम गरिरहेका थिए।
नेपाली भाषासाहित्यका साधक उनको जन्म १९८१ साउन ५ गते भएको थियो । वैष्णवको पहिलो रचना ‘शारदा’ पत्रिकामा ‘सूर्य’ शीर्षकको कविता प्रकाशित भएको थियो। उनका रातको आँसु–गीति कविता, पतकर–कविता संग्रह, अन्तरध्वनि–कविता संग्रह, उपहार–कविता संग्रह, केही लघु नाटक, केही गीति नाटक र साझा प्रकाशनबाट नयाँ लहर प्रकाशित छन् ।
उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय चेलाका रूपमा परिचित छन् । उनले हाम्रो संस्कृति, माधुर्य, झंकार आदि पत्रिकाको सम्पादन पनि गरेका थिए । वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, नइ देरूनीख प्रदीप्ति पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्यिक पुरस्कार र त्रिमूर्ति पुरस्कार पाएका छन्।
विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्मनुभएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् । यसैबीच नई प्रकाशनले वैष्णवको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
सम्झनामा श्यामदासकाे एक कविता
उद्घोष
साहस छ
भने आफूमा
हरमान्छे
सगरमाथाको प्रतीक बन्न सक्छ
निष्ठा छ भने धरतीमाथि
हर प्राणी गाथा बन्न सक्छ ।
आवश्यकता छ केवल
सचेतनताको यहाँ
होश छ भने हर व्यक्तित्व
बुद्ध यहाँ बन्न सक्छ ।
विवेकशील छ भने हर मान्छे
हितकारी शिव बन्न सक्छ ।
सोची विचारी हेर्दा
ईश्वरत्वको प्रतिनिधित्व
मान्छेले नै गरेको पाइन्छ यहाँ
विकार र विकृति समन गरी
उसले युग फेरेको देखिन्छ यहाँ
वास्तविकता गुह्य कुरा गरौं त
अन्तरनिहित चैतन्य नै
ईश्वरको अंश हो भन्न सकिन्छ
समष्टि हितमा जो अघि सर्छ
उसलाई नै महत्वको
मान्न सकिन्छ ।

