- भारती न्याैपाने
१.
क्रान्तिको दियो छातीमा धिपधिपाउँछ बेस्सरी,
पँधेरो नछोडुन्जेल समाजमा परिवर्तन आउँछ कसरी?
काट्न जानेका कुरा मायाले साट्न सिक पँधेरैमा बरू,
साट अनुभव जति काट्यो चुलेसीमा धार लाग्छ जसरी।
२.
समाज पनि कस्तो चर्किएको ऐना जस्तो
पर्दा पछाडि कुनै प्रतिबिम्ब छैन जस्तो
नाट्यशाला रहेछ जीवन मञ्चन भइरहने
आफ्नै भूमिका पिँजडाको मैना जस्तो ।
३.
कागजको फूल सम्झ्यौ नि मलाई आगोले जलाउने
मिट्टीको रूपमा हेर्यौ नि मलाई पानीले बगाउने
भो माया नगर मलाई, लाग्दैन भने के हुन्छ करले
मुटु छ हेर छातीको माझ तिमीलाई सम्झाउने।
४.
न त साथ कुनै न त रोष कतै
न त भेट थियो न त दोष कतै।
कविको मन चञ्चल पारिदिने
मनमा बहने मणि होस कतै ।।
५.
कतिको बाटो टुङ्गिन्छ हिँड्दा हिँड्दै,
कतिको आवाज अड्किन्छ बोल्दा बोल्दै,
दृश्य छेकिनु, सपना टुट्नु मात्र कहाँ हो र!
अन्तिमपटक मुटु रोकिन्छ चल्दा चल्दै ।।
झापा, शान्तिनगर -५
हाल ललितपुर

