मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । मगलबार नेपाल पक्षका २२ जना सांसदले बागमती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएकाे प्रदेश सभाले जनाएकाे छ ।
तत्कालिन नेकपाको दाहाल–माधव नेपाल पक्षका ४५ प्रदेश सांसदले मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव हस्ताक्षर गरेर स्थायी कमिटी सदस्य एवं प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव सहित मुख्यमन्त्रीविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।
सर्वोच्च अदालतले नेकपाको पार्टी एकीकरणलाई खारेज गरेसंगै नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएसंगै नेपाल पक्षका प्रदेश सांसदले मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव हस्ताक्षर फिर्ता लिएका हुन् । अविश्वास प्रस्तावकाे फिर्ता लिएपछि पौडेल नेतृत्वको सरकारको आयु लम्बिएको छ ।सरकार गठनका लागि ५६ मत आवश्यक पर्ने बागमती प्रदेशमा ५७ सांसद रहेको एमालेको एकल बहुमत रहेकाे छ ।
यसंगरी नेकपा माओबादी केन्द्रले भने अविस्वासको प्रस्ताब फिर्ता लिएका छैनन् । २३ जना सांसद रहेको माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता भने लिने भएको छ । प्रदेश पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
‘तत्कालिन अवस्थामा अविश्वास प्रस्ताव अगाडि बढ्न सक्दैन । त्यसकारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने निर्णय गरेका हौं,’ माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने ।
यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वासकाे प्रस्ताव पनि फिर्ता भएकाे छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका १६ जना सांसदले नाम फिर्ता लिएका छन् ।
उनीहरुले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । यसअघि गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएपछि तत्काललाइ मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ । प्रदेश १ प्रदेशसभामा एमालेको ५१ सांसद छन् । ९३ सदस्य रहेको प्रदेशसभामा सरकार निर्माणका लागि ४६ सांसद भए बहुमत पुग्नेछ ।

