मकवानपुर । नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा त्यसको विरोध भन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको बताए।
भट्टराईले हेटौँडामा आयोजित सङ्गठनको दोस्रो प्रादेशिक भेलालाई साेमबार सम्बोधन गर्दै देशमा भएको आमुल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र सम्रग प्रेस जगप्रतिको स्वतन्त्रता कायम राख्न नेकपा प्रचण्ड नेपाल समूह कटिबद्द रहेको बताए। सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा उनले जोड दिएका छन् ।
नेकपा निकट प्रेस सङ्गठन नेपालका इञ्चार्ज समेत रहेका भट्टराईले सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । ‘सरकारी मिडियाले सरकारको अन्धो समर्थन गर्ने गरेकोले उनीहरुले आफ्नो अस्तित्व जोगाउन सकेनन्,’ भट्टराईले आरोप लगाए।
यस्तै उनले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन् । उनले प्रधानमन्त्रीले दिनदाहडै संसद विघटन गर्दा ठीक हो भन्दै त्यसको पछि लाग्नेलाई आफ्नो अस्तित्वको रक्षा गर्न चुनौती दिए। भट्टराईले ओलीलाई कम्युनिस्ट आन्दोलनले नपत्याएको भन्दै अन्य दलमा पनि आन्दोलनको मर्म भावना नबुझ्दा बडारिनु परेको स्मरण गर्दै अब ओलीले पदत्याग गरेर कम्युनिस्ट आन्दोलनले सार्थकता पाउने बताए। नेता भट्टराईले केपी ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफु विश्वस्त रहेको बताए।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय क्रमशः मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । प्रेस सङ्गठनका सहइञ्चार्ज ओम शर्मा र सहसंयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए ।

