- प्रभादेवी पौडेल
भर्खर एस ई ई पास गरेको छोरालाई आमाले भनिन् ,-“बाबु यसो सहर तिर गएर दुइचार दिन घुमेर आइज न त, मामा पनि कलेज पढाउॅछ, कुन बिषय पढ्ने भनेर सल्लाह गर, मामाले के भन्छ यतै बसेर पढ्लास्, यता त्यती राम्रो कलेज पनि छैन “भनेर बाटा खर्च जोहो गरेर पठाईन्।
गाउँमा पाईने शुद्ध घीउ तरकारी समेतले झोला कुरुन्त थियो। ऊ सहरमा पुग्ने बित्तिकै मामा माइजु निक्कै खुसी भए। घरको सन्चो बिसन्चो सोधे । खाना खाने बेला भयो उसको आँखा भातको भांडो तिर पर्यो। भोकले इन्तू न चिन्तु परेकोले सबै भाँडाको भात एक्लैले सक्छु जस्तो लाग्यो तर माइजुले बराबर पाँच भाग लगाइन्। उसको कान्छी आन्द्रो पनि भरिएन। त्यो दिन सबै खान पिन गरि सुते।
भोलिपल्ट सबै आ आफ्नो काममा ब्यस्त भए। माईजुको टाढा अफिस थियो। सबै भन्दा पहिल्यै खाना खाएर निस्किनाले भान्छा हसरल्ल हुन्थ्यो । त्यतिकै बस्न उसको मन मान्दैनथ्यो। बिचरो दिनभरि एक्लै हुन्थ्यो। हप्तामा एकदिन बिदाको दिनमा पनि मामा माइजु मीटिङ भनेर गए। भाइ बहिनी कलेजको प्रोग्राम भन्दै निस्कन्थे र उतै खाना खाएर आउंथे।
एक्लै खाना खान परेको दिनमा ऊ आफै भान्छामा पस्थ्यो र बिहानको भुट भाट पारेर खान्थ्यो। ऊ आएको हप्ता दिन बिती सक्दा पनि मामा माईजुको मुखवाट उसको पढाइको बारेमा कुनै कुरा निस्केन। दूई हप्ता बसेपछि उसले मामा सँग भन्यो,-” म भोली घर जान्छु मामा।” मामाले भने,-” हुन त अब पढाई पनि शुरुहुने बेला भयो होला भान्जा बाबुको, राम्ररी पढ्नु नी यसो बिदा पारेर यता पनि आउॅदै गर्नु है भान्जा ।”
ऊ घर पुग्यो । आमाले सोधिन् ,- के भन्यो बाबु मामाले ?” उसले उत्तर दियो ,-“म यतै बसेर पढ्छु , हजूरको पालाको मामाघर र अहिलेको मामाघरमा आकाश र जमिनको भिन्नता छ आमा।”

