मकवानपुर । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र वडाको खेलकुद समितिको संयुक्त आयोजनामा नगर कप भलिबल प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १४ मा हुने नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पुरुष भलिबल प्रतियोगिता हुनेछ भने वडा नम्बर १४ मा महिला भलिबल हुनेछ । वडा नम्बर १२ मा हुने पुरुष भलिबल प्रतियोगिता यही माघ २९ गते सुरु भई फागुन १ गते सकिनेछ । वडा नम्बर १४ मा हुने महिला भलिबल प्रतियोगिताको मिति भने तय गरिएको छैन । बुधबार प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा बसेको बैठकले वडास्थित खेलकुद समितिसँग सहकार्य गरी संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो । प्रतियोगिता आयोजनाका लागि उपमहानगरपालिकाले दुई लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
नगर कप प्रतियोगिता भएकोले नगरको वडा वडामै पुगेर कार्यक्रम आयोजना गर्दा भलिबल खेलमा युवा पुस्ताको रुचि बढाउन सकिने अपेक्षासहित इच्छुक वडास“ग सहकार्यको प्रयास भएको प्रतिष्ठानका अध्यक्ष्ँ प्रताप विष्टले बताए । साविक विजेता १२ नम्बर वडाले पुरुष भलिबल प्रतियोगितामा सहकार्य गर्न इच्छा देखाएको र महिला भलिबलका लागि १४ नम्बर वडाले इच्छा देखाएअनुसार यो वर्षलाई ती दुई वडासँग सहकार्य गर्ने निश्चित भएको विष्टले जानकारी दिए । आगामी वर्षदेखि उपाधि विजेता वडालाई नै सहकार्यका लागि प्रेरित गर्दै लैजाने विष्टले बताए ।
गत वर्ष पुरुष भलिबलको उपाधि १२ नम्बर वडाले जितेको थियो भने महिला भलिबलको उपाधि १९ नम्बर वडाले जितेको थियो । महिला र पुरुष दुवै विधामा पुरस्कार राशी समान हुने बताइएकाे छ।नगर कप भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ५० हजार र ३० हजार रुपैयाँ रहेको छ । सेमीफाइनलमा पराजित हुने टिमलाई १० हजार रुपैयाँ पाउनेछ ।

