मकवानपुर/संघीय सरकारले भारतको सहयोगमा ल्याएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ ।
सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आईतबारबाट ७ वटै प्रदेशमा पठाउन थालिएको थियो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको थियो ।
खोप केन्द्र बनाएर लगाउने पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा र काठमाडौँ उपत्यकामा भने १० भन्दाबढी अस्पतालमा खोप वितरण गरिने सरकारको तयारी रहेको छ । उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।
बागमती प्रदेशको रामेछापमा १४ सय १६, सिन्धुलीमा १४ सय ८०, ललितपुरमा ७८ सय १२, रसुवामा ७ सय ५७, चितवनमा ३७ सय ४१, काभ्रे ३६ सय ३८, नुवाकोट २४ सय, दोलखा २१ सय ४२, भक्तपुर ३८ सय ४५, सिन्धुपाल्चोक १७ सय ७३, ३३ हजार ५ सय ९, धादिङ १५ सय ९, मकवानपुर २२ सय ८९ जनालाई पहिलो चरणमा कोरोना भ्याक्सिन दिइनेछ । बागमती प्रदेशको लागि पहिलो चरणमा उपलब्ध गराएको सातहजार ६ सय भाइल कोरोना विरुद्धको भ्याक्सिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत् हेटौंडा–१ मा रहेको प्रदेश आपूर्ति केन्द्रमा भ्याक्सिन भण्डारण गरिएको छ ।
हेटौंडामा प्राप्त भएको भ्याक्सिन बागमती प्रदेशको तीन र प्रदेश २ को छ जिल्लालाई उपलब्ध गराइने छ । उनका अनुसार बागमती प्रदेशको मकवानपुर, चितवन र सिन्धुली तथा प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र जिल्लालाई भ्याक्सिन उपलब्ध गराइनेछ ।
दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. राजेश्वर गौतमले बताए । गौतमका अनुसार माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त ‘कोभिशिल्ड’ खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।
अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् । थाहा सन्देश दैनिकबाट

