मकवानपुर/ मानव बेचबिखनबाट पीडित प्रभावित व्यक्तिहरू उद्वार तथा फिर्तिको लागि कार्य सञ्चालन सम्बन्धी मापदण्ड नहुँदा समस्या भएकोले यसबारे स्पष्ट मार्गदर्श सहितको मापदण्डको आवश्यकता औल्याइएको छ ।
बेचविखन विरुद्धको कार्यमा संलग्न ४१ वटा सामाजिक संघसंस्थाहरुको सञ्जाल एटविनले हेटौंडामा आयोजना गरेको प्रदेश तहको परामर्श कार्यक्रममा सहभगीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले विगतमा गरेको संघर्षलाई संस्थागत गर्दै बेचविखन विरुद्धको अभियानलाई निरन्तरता दिनुपर्ने बताइन् । उद्धार गरि फिर्ता ल्याइएका महिला, बालबालिकाहरुको सुरक्षित भविष्याको लागि केही ऐन तथा कानुनहरु बनेको भएपछि कार्यान्वयनको पाटो फितलो भएकोले दावावकारी भूमिका जारी राख्न प्रदेश सदस्य श्रेष्ठले आग्रह गरिन् ।
आफूले संसदमा बसेर नीति बनाउने क्रममा सुझाव राख्दा एजजीओको आवाज ल्याइएको भनेर आक्षेप आउने गरेको उनले बताइन् । ‘धेरै संघर्ष गरेर नीति बनायौ,अब कार्यन्वयनको क्रममा छ’ उनले भनिन् ‘फिर्ता ल्याईएकाहरुलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बारे नीति बनाईएको छ, बजेट पनि छुट्याइएको छ ।’ विकास भन्नाले बाटो पुल निर्माण मात्रै नभइ महिला हिंसा, मानव बेचबिखन विरुद्धको सवाल पनि पर्छ भन्ने बुझाउनु समस्या भएको उनले बताइन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकी इन्द्रा ओझाले एटविनको सन्जाल प्रदेश स्तरीय भए सामाजिक काममा समन्वय गर्न सहज हुने बताइन् । कार्यक्रममा एटविनको निवर्तमान अध्यक्ष तथा हिमराइट्स अध्यक्ष अन्जना शाक्यले उद्वार र फिर्तिको लागि निश्चित मापदण्ड नहुदा काम गर्न समस्या भोग्दै आएको बताइन् । यसबारे अभिभावकत्व ग्रहण गर्नुपर्ने सरकारी निकाय नै अन्यौल रहेको उनले बताइन् ।
बेचविखनबाट पीडित प्रभावितहरुलाई फिर्ति तथा उद्धार गर्नको लागि आवश्यक मापदण्डको मस्यौदामाथि कार्यक्रममा छलफल गरिएको थियो । एटविनका परामर्दाता रत्नाकाजी बज्राचार्यद्धारा तयार पारिएको मापदण्ड माथि गैससकर्मीहरुले सुझाव दिएका थिए । ‘उद्वारको जिम्मेवारी गैससको मात्रै हो कि भन्ने भान सरकारलाई परेको छ, सरकारले नेतृत्व लिनु पर्ने तर त्यो देखिएन’ परामर्शदाता बज्रचार्यले भने । पीडित प्रभावितको मानव अधिकारको रक्षाका लागि राज्यले निश्चित मापदण्ड बनाउन पर्ने उनले बताए ।
कार्यक्रम एटविनको अध्यक्ष नातीसरा राईको अध्यक्षतामा भएको थियो । पीडित प्रभावितहरुलाई स्वदेश फिर्तिको लागि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने खाका तयारीमा महत्वपुर्ण सुझाव प्राप्त भएको अध्यक्ष राईले बताइन् ।
