मकवानपुर । आगामी माघ महिनामा हेटाैडामा भेट्रान्स कप र हेटाैडा गाेल्डकप फुटबल प्रतियाेगिता हुने भएकाे छ । हेटौंडा भेट्रान्स क्लबले हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ देखि आयाेजना गर्ने भएको छ भने विजय युथ क्लब हेटौंडाले माघ २२ गतेबाट फागुन १ गतेसम्मको पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैटौं प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक तथा हेटौंडा भेट्रान्स क्लबका सदस्य कविन सांगामीले जानकारी दिए। प्रतियोगितामा हेटौंडासहित वीरगञ्ज, चितवन, पोखरा, काठमाडौं, विराटनर, कोल्बी, जितपुरलगायतका स्थानबाट सहभागिता हुनेछ। प्रतियोगितामा फुटबलमा राष्ट्रिय टिमबाट खेलिसकेकाहरु पनि सहभागी हुने सांगामीले बताए। प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ को लोकतान्त्रिक खेल मैदान हुप्रचौरमा सञ्चालन हुनेछ।
प्रतियोगिताका प्रथम हुने समूहले एक लाख एक हजार १११ रुपैयाँ, दोस्रोले ५१ हजार १११ रुपैयाँ र उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिए। यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ। पाँचौं संस्करणको उपाधि वगरभाई खेल भेट्रान पोखराले जितेको थियो।
यसैगरी एफ.सि विजय युथ क्लवले हेटौंडामा ‘एफ.सि विजय युथ हेटौंडा गोल्डकप’ आयोजना गर्ने क्लबले जानकारी दिएको छ । विजय युथ क्लब हेटौंडाले माघ २२ गतेबाट फागुन १ गतेसम्मको पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा मोफासलका दश टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सुदीप राजबाहकले बताए । प्रतियोगितामा आयोजक एफसी विजय युथ, वीरगञ्ज युनाइटेड, सर्लाही– ११, दुधौली स्पोर्टस् क्लब सिन्धुली, हर्दी युवा समाज चितवन,नवजनजागृती युवा क्बल सिमरा, वीरगञ्ज युथ एकेडेमी,सेन्ट्रल कलेज चितवन, एफसी रियाले काठमाडौं सहभागी हुने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए ।
प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलमा म्यान अफ दी म्याच समेत प्रदान गरिनेछ । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । कोरोनाका डर भएपनि टिकट लिएर दर्शक राख्ने आयोजकले जानकारी दिएको छ ।

