मकवानपुर / मकवानपुरको विभिन्न विद्यालयहरुमा व्यावसायिक यौन शोषण विरुद्व सचेतना कार्यक्रम गरिएको छ । माइती नेपाल मकवानपुरको आयोजनामा भिमफेदी–१ को कृष्ण मावि, हेटौंडा–१८ को गोरक्षनाथ मावि, मनहरी–१ को बालजीवन ज्योति माविमा सचेतना कार्यक्रम गरिएको हो ।
उल्लेखित विद्यालयको कक्षा ८, ९ र १० का १५ / १५ जना किशोरीहरु तथा ५ /५ जना किशोरहरुलाई बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको हो । कृष्ण माविमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भिमफेदी गाउँपालिका वडा १ का वडा अध्यक्ष काशिराम बज्यु, शिक्षकहरु नन्दलाल लामा, दिपक पुडासैनीको उपस्थिति रहेको थियो ।
यसैगरी हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शैलेन्द्रराज बानियाँ, प्रध्यानाध्यापक योगराज खतिवडा, सहायक प्रध्यानाध्यापक प्रेमप्रसाद घिमिरे शिक्षक निर्माला चौलागाईंलगायतको उपस्थिति रहेको थियो । यसैगरी मनहरी–१ को बालजीवन ज्योति माविमा आयेजना गरिएको कार्यक्रममा वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद खनाल, प्रध्यानाध्यापक एकराज गौतम, शिक्षकहरु दीलकुमार स्याङ्तान, डीबी अर्याल तथा विद्यालय व्यवस्थापन समिति सदस्य नितुमाया थिङ्गको उपस्थिति रहेको थियो ।
सचेतना कार्यक्रमले आफूहरुलाई सधैं सचेत रहनको लागि प्रेरण दिलाएको र आफूहरुले सिकोका कुराहरु आफ्ना साथीहरुको बिचमा समेत आदनप्रदान गर्ने बालजीवन ज्योति मावि कक्षा ९ कि छात्रा अस्मिता न्यौपानेले बताइन् ।

विद्यालय स्तरका किशोर किशोरीहरुलाई यस्ता व्यवहारीक ज्ञान आवश्यक भएको बताउँदै यस्ता कार्यक्रमहरु समय समयमा विद्यालयहरुका ल्याउनको लागि वडा अध्यक्षहरुले बताएका छन् ।
कार्यक्रममा सहजिकरण गर्दै माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बालबालिकाहरुमाथि पछिल्लो समय व्यवसायिक यौन शोषणको घटनाहरुमा विभिन्न चुनौतिहरु देखिएको बताइन् ।
सचेतना कार्यक्रममा सहभागीहरुलाई उक्त विषयसँग सम्बन्धित भीडियो पनि देखाइएको थियो ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सावधानी अपनाई कार्यक्रम आयोजना गरिएको लामाले बताइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सामान्य ज्ञानको प्रश्नावली सोधेर उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । साथै कार्यक्रममा सबै सहभागीलाई स्टेशनरी समेत सहयोग गरिएको माइती नेपाल मकवानपुर सहजकर्ता सरिता तामाङ्गले बताइन् ।

