मकवानपुर । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहितका जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिन अनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले मंगलबार जारी गर्नुभएको सूचनामा मकवानपुर जिल्लामा भारी वर्षाकाे सम्भावना भएकाेले उच्च सतर्कता अपनाउन आग्रह गरिएकाे छ । बर्षाकाे कारण नदी तथा खोलामा आकस्मिक बाढी, कटान, डुबान र पहिरोको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह समेत सूचनाद्वारा भनिएकाे छ । प्रशासन कार्यालयले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन, वर्षाको अवधिमा बाली नकाट्न, नदी तथा खोला नतर्न र माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण कार्य नगर्न अनुरोध गरेको छ ।
त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–काठमाडौँ छोटा मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा चौपायालाई सुरक्षित स्थानमा राख्न र महत्त्वपूर्ण कागजात सुरक्षित गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।



