मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएकाे छ। शुक्रबार वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फर्स्ट ग्राजुएट कन्फ्रेन्समा मुख्यमन्त्री थापामगरले यस्तो कुरा बताउनु भएकाे हाे ।
वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्त्वपूर्ण आधार रहेको छ’ मुख्यमन्त्री थापामगरले भने ‘शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने हुन्छ ।’ वनले वातावरणीय सन्तुलन, जैविक विविधता, जलाधार, -माटो संरक्षण र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने भएपनि जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधता ह्रास र मानव–वन्यजन्तु द्वन्द्व प्रमुख चुनौतीका रूपमा रहेको उहाँले जानकारी दिनुभयो ।
‘वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’ उहाँले भन्नुभयो । वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीप प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रयोग गर्नुपर्ने उहाँले बताउनु भयो। बागमती प्रदेशमा प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासमा जोड दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘अनुसन्धानलाई नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्छ ।’
मुख्यमन्त्री थापाले भन्नुभयो ‘युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्छ।’ सम्मेलनले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता र नीति निर्माताबीच ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने भएकाेले वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा मन्त्री थापाको जोड दिनुभयो ।
मुख्यमन्त्रीले पछिल्लो समय जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्व वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने बताउनु भयो ।

