मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभमा सोमबार सम्बाेधन गर्दै राजिनाकाे घाेषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन सोमबारका लागि प्रदेश सभाकाे बैठक बाेलाएका थिए ।
विश्वासकाे मत नलिइ राजिनमाकाे घाेषणा गरेका उनले सम्भवतः आजै प्रदेश प्रमुख समक्ष राजिनामा बुझाउने छन् । बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको प्रगति प्रस्तुत गरेका थिए। नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिने तयारीमा थिए ।
उनलाई प्रदेश सभा विश्वासको मतको प्रस्ताव लैजाँदा आफ्नै दल नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीले मात्रै विश्वासको मत दिने अवस्था बनेको थियो। प्रस्तावको विपक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने भएका थिए । राप्रपाले त विश्वासकाे मतकाे विपक्षमा वस्न सांसदहरुलाई ह्विप नै जारी गरेकाे थियाे । सरकार टिकाउन आवश्यक सङ्ख्यामा सांसदहरूको समर्थन प्राप्त नहुने भएपछि उनले राजिनाकाे घोषणा गरेकाे बताइएकाे छ ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, पछिल्लो राजनीतिक परिस्थितिबीच उनले विश्वासको मत नलिई राजीनामाकाे बाटो रोजेका हुन् । प्रदेशसभामा सम्बोधन पछि विश्वासको मत विभाजनको प्रक्रियामा नजाँदै उनले राजिनामा घोषणा गरी प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जानकारी दिए ।
विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्री बानियाँले शुक्रबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेपछि कार्यसूची समेत सभाले तयार गरेकाे थियाे । मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्न राजिनामा दिने घोषणा गरे लगत्तै विश्वासकाे मत सम्बन्धी कार्यसूची समामुख अप्सरा चापागाईले सूचीबाट हटाइकी थिइन् । ४३ दिन पछि सोमबार बसेकाे प्रदेश सभाकाे बैठक समेत अर्काे सूचना नभएसम्काे लागि स्थगित भएकाे छ ।
बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बानियाँ एक वर्षपछि सरकारबाट बाहिरिएका हुन्। २० साउन २०८२ साल साउन २० गते मुख्यमन्त्री नियुक्त भएका उने २०८२ साउन २७ गते विश्वासकाे मत लिएका थिए । बागमतीमा २०८१ साल साउनबाट नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेकाे थियाे ।
आवश्यक बहुमत जुटाउन नसक्दा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न नसकेको बागमतीमा अब नयाँ सरकार गठन हुनेछ। नेकपा र नेकपा एमालेबीचको गठबन्धनले अन्य दलको समर्थनमा सरकार गठन गर्ने तयारी गरेका छन्। अन्य साना दललाई समेटिए बागमतीकाे मुख्यमन्त्रीसहितकाे नेतृत्व एमालेले गर्ने छ ।
सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । १०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

