मकवानपुर । बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडाले शुक्रबार सूचना जारी गर्दै प्रदेशसभाको बैठक भदौ १ गतेका लागि आह्वान गरेको हो ।
४३ दिन पछि भदौ १ गते दिउँसो १ बजेकाे लागि आव्हान गरिएकाे बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको सूचनामा उल्लेख छ । प्रदेशसभाको जारी आठौं अधिवेशन अन्तर्गतको सत्रौं बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव राम कुमार पौडेलले जानकारी दिए ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्न लागेका हुन् । सचिव पौडेलद्वारा जारी सूचना अनुसार मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल गर्न प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठकको मिति र समय निर्धारण गरिएकाे हाे । यसअघि गत असार २० मा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ काे बजेट पारित गर्न प्रदेशसभा बैठक बसेकाे थियाे ।
सत्ता साझेदार दल नेकपा एमालेले बागमती सरकारलाई दिएकाे समर्थन फिर्ता लिदैं सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा दिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन् । अल्पमतमा परेकाे १ महिना भित्र प्रदेश सभाबाट विश्वासकाे मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । यस अघी नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलकाे बैठकमा समेत मुख्यमन्त्रीले भदौ ३ भित्रै प्रदेश सभाबाट विश्वासकाे मत लिने निर्णय भएकाे थियाे ।


