मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलियाले नै निरन्तरता पाउने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बसेको बैठकले दलको नेता परिवर्तन नगर्ने सहमती भएकाे हाे ।
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि संसदीय दलकाे नेता परिवर्तनकाे समेत चर्चा राजनैतिक वृतमा चलेकाे थियाे । नेतृत्व विवाद तत्काललाई मिलाउन एमालेले अन्ततः थपलियालाई नै दलको नेतामा निरन्तरता दिने निर्णयमा पुगेकाे हाे । दलकाे शीर्ष नेतृत्वकाे हस्तक्षेप पछि बागमती प्रदेशकाे दलकाे नेताकाे विवाद टुंगिएकाे छ ।
केन्द्रमा एमाले र नेकपा बीच प्रदेशहरुकाे सत्ता समिकरणकाे लागि बाम गठबन्धन भएपछि सहमती अनुसार बागमती प्रदेशको सत्ता नेतृत्व एमालेले गर्ने भएकाे थियाे । दल नेताको विषयमा एमाले भित्रै मतभेद रहेकाे अवस्थामा थपलियाले नै निरन्तरता पाउने भएपछि मुख्यमन्त्रीकाे दावेदार समेत उनै हुनेछन् । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने व्यवस्था रहेकाले एमाले–नेकपाबिचको सहमति अनुसार थपलिया मुख्यमन्त्रीका मुख्य दाबेदार हुन । यद्यपि पार्टीभित्र मुख्यमन्त्रीका लागि अन्यले पनि दाबी गर्दै आएका छन् ।
बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको प्रतिस्पर्धा चर्किएको थियो । दलभित्रको विवाद समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबिच काठमाडौँमा पटक–पटक छलफल भएको थियो । एमाले केन्द्रले सत्ता साझेदार दल नेकपासँग भएको सहमति कार्यान्वयनलाई प्राथमिकता दिँदै तत्काल सरकार गठन गर्ने रणनीति अनुसार संसदीय दलको नेतृत्व यथावत् राख्ने निर्णय गरेकाे बताइएकाे छ ।
हाल प्रदेशसभामा ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ मत मात्रै पुग्ने भएकाले बहुमतका लागि कम्तीमा दुई सांसदको थप समर्थन आवश्यक छ । यसैगरी प्रदेशसभामा कांग्रेसकाे ३६ सदस्य रहेकाे छ । राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।
एमालेले सहमतीबाट बागमतीकाे नेतृत्व पाउने भए पनि हाल अङ्कगणित अनुकूल नहुँदा दाबी प्रस्तुत गर्न सकेको छैन । एमाले नेतृत्वमा सरकार गठन निश्चित छ तर प्रदेशसभामा बहुमत जुटाउन अर्को चुनौती भने कायमै छ । सरकार गठनकाे लागि बहुमत समर्थन जुटाएपछि थपलियाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन् ।
यद्यपि एमालेभित्र भने मुख्यमन्त्रीको विषयमा मत एकरूप छैन। प्रदेशका सांसदहरू जगन्नाथ थपलिया र किरण थापाको पक्षमा विभाजित देखिएका छन्। थापालाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री अघि सार्ने उद्देश्यले १९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसमेत संकलन गरिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले संसदीय दलका नेता रहेका थपलियालाई नै मुख्यमन्त्री बनाउने पक्षमा धारणा व्यक्त गरेको बताइएकाे छ । ओलीको भनाइपछि प्रदेशकाे नेतृत्व थपलियाको पक्षमा स्पष्ट देखिएकाे छ ।
यसैबीच नेपाली कांग्रेससँग सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरिसकेकाे छ । बिहीबार ललितपुरमा बसेको दलकाे बैठकले वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने समेत निर्णय समेत गरेको थियाे । बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय भएकाे छ ।
कुनै राजनीतिक घटनाक्रम नबदलिए एमालेका जगन्नाथ थपलिया बागमतीकाे ७ औं मुख्यमन्त्री बन्नेछन् । प्रदेश सभाकाे साढे आठ वर्षकाे अवधीमा ६ मुख्य मन्त्री ९५ जना मन्त्री भएका छन् ।
प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफूसहित ११, अष्टलक्ष्मी शाक्यले १३, राजेन्द्र पाण्डेले १८, शालिकराम जम्कट्टेलले २१, बहादुरसिंह लामाले १८ र इन्द्रबहादुर बानियाँले १४ जनालाई मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र विना विभागीय मन्त्री नियुक्त गरिसकेका छन्। मुख्यमन्त्री बाँनियाकाे नेतृत्वकाे सरकारबाट एमाले बाहिरिएपछि हाल ८ जना मन्त्री छन् ।
यी सबै नियुक्ति जोड्दा ९५ हुन्छ। तर एउटै व्यक्ति फरक सरकार वा फरक गठबन्धनमा दोहोरिएकाले हाल सम्म ८३ जना मात्रै प्रदेशकाे नेतृत्व तहमा रहेका छन् । प्रदेशमा ७ मन्त्रालयबाट सुरु भएकाे मन्त्रालय १४ सम्म पुर्याइएकाे थियाे । हाल ८ वटा मन्त्रालय कायम छन् । अब नयाँ सरकार बन्दा मन्त्रीहरुकाे सूचीमा अरु संख्या थपिने छ ।

