मकवानपुर । बागमती प्रदेश सरकारकाे सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरुले संयुक्त राजिनामा दिएका छन् । बुधबार आफ्नाे पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई सामूहिक राजीनामा गराएर एमालेले समर्थन फिर्ता लिएकाे हाे ।
सत्ता साझेदार दलले सरकारलाई दिएकाे समर्थ फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। बुधबार सरकारमा सहभागी एमालेका ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए । एमालेबाट उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, विना विभागीय मन्त्री किरण थापा, विना विभागीय मन्त्री भरतबहादुर केसी, विना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् ।
एमालेका मन्त्रीहरूले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका जानकारी गराएका थिए । त्यसपछी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र दर्ता गराएका थिए । मुख्यमन्त्री बानियाँले एमालेका मन्त्रीहरूलाई भेट नदिएपछि उनीहरुले मुख्यमन्त्री सचिवालयमा राजीनामा पत्र दर्ता गराए । यसैगरी प्रदेश प्रमुख सचिव बाबुराम अधिकारी समक्ष राजीनामा पेस गरेका छन् ।
एमालेका मन्त्रीको राजीनामा र सरकारको समर्थन फिर्ता लिएसँगै बागमतीको राजनीतिले नयाँ मोड लिएको छ । बागमतीको सत्ता राजनीतिले नयाँ मोड लिनुको साथै मुख्यमन्त्री बानियाँलाई सरकार टिकाउन अर्काे चुनौती थपिएकाे छ । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँले आगामी ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ । मुख्यमन्त्री बानियाँले सरकारको निरन्तरताका लागि नयाँ गठबन्धन सहित ५३ सांसदको समर्थन जुटाउनु पर्ने छ।
मुख्यमन्त्री बानियाँले एमाले कांग्रेस गठबन्धनबाट २०८२ साल साउन २० बाट सरकारको नेतृत्व गर्दै आएका थिए । एमाले काग्रेस गठबन्धनबाट कांग्रेसले २ पटक प्रदेश सरकारको नेतृत्व लिएकाे हाे । २०८१ साल साउन ९ गतेबाट एमालेको समर्थनमा कांग्रेसका बहादुर सिंह लामा मुख्यमन्त्री बनेकाेमा उनले २०८२ साउन २० सम्म सत्ताको नेतृत्व गरेका थिए । बानियाँले तत्कालिन मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाएर सत्ताकाे नेतृत्व गरेका हुन् ।
आव २०८१/८२ को बजेटमा पार्टीभित्रको विवादलाई मुद्दा बनाएर आफ्नो पक्षमा बहुमत सांसद जुटाउँदै तत्कालीन पार्टी सभापतिको समर्थनमा बानियाँले लामालाई सरकारबाट हटाएर मुख्यमन्त्री बनेका थिए । सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न १४ दिन बाँकी छँदै उनले बहुमत गुमाएका हुन् ।
प्रदेश तहमा बाम गठबन्धन (एमाले र नेकपा)बिच नयाँ सत्ता समीकरण अगाडि बढाउने बताइएकाे बेला एमाले र नेकपालाई पनि सरकार गठन निकै चुनौतीपूर्ण हुनेछ । बाम गठबन्धनलाई सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक रहेको र सोही अनुसार दलहरूलाई मिलाउन पर्ने हुन्छ।
११० सदस्यीय बागमती प्रदेश सभामा ६ पद रिक्त रहेकाले हाल १०४ सदस्य कायम छन् । सरकार गठन तथा सरकारको निरन्तरको लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपा मिलेर (५१ सांसद) सरकार बनाउँदा २ सिट अपुग हुन्छ । बहुमत पुर्याउन अन्य साना दललाई सरकारमा सहभागी गराउनु पर्नेछ ।
प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का २ सांसद छन्।

