मकवानपुर । युवापुस्ताले आधिकारिक सूचना र विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । जनपत्र मिडिया प्रालिले गरेकाे कार्यक्रममा सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, फेक आइडी र अपुष्ट सामग्रीका कारण समाजमा भ्रम, अविश्वास र मानसिक तनाव बढ्दै गएकोले युवाहरुले उक्त कुरामा जोड दिएका हुन् ।
जनपत्रले हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा आयोजना गरेको “भ्रामक सूचनाबाट बचौँ, आधिकारिक सूचना रोजौँ” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक सञ्जालको सही प्रयोग, तथ्य जाँच र आलोचनात्मक सोचको आवश्यकता औँल्याएका हुन् ।सामाजिक सञ्जालले सूचना आदान–प्रदानलाई सहज बनाएको भए पनि गलत सूचना र अफवाह फैलाउने माध्यमका रूपमा पनि प्रयोग भइरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई कुनै पनि सामग्री तत्काल विश्वास नगर्न आग्रह गरिएको थियो ।
वक्ताहरूले एउटै सूचना विभिन्न विश्वसनीय माध्यममा आएको छ कि छैन भन्ने जाँच गर्न, पोस्ट गर्ने व्यक्तिको विश्वसनीयता हेर्न तथा आधिकारिक निकायबाट पुष्टि नभएसम्म कुनै सूचना शेयर नगर्न सुझाव दिए । अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले अहिलेको युवा पुस्ता फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब लगायतका प्लेटफर्मतर्फ तीव्र रूपमा आकर्षित भइरहेको बताए । उनीहरूका अनुसार सामाजिक सञ्जालले साथीभाइ र आफन्तसँग तुरुन्त सम्पर्क राख्न, नयाँ जानकारी पाउन, मनोरञ्जन लिन तथा आफ्नो विचार अभिव्यक्त गर्न सहज वातावरण बनाएको छ ।
कार्यक्रममा सामाजिक सञ्जालको आकर्षणसँगै यसको नकारात्मक प्रभावबारे पनि चर्चा गरिएको थियो । विशेषगरी फुर्सदको अधिकांश समय मोबाइल र सामाजिक सञ्जालमै बिताउने प्रवृत्तिका कारण अध्ययन, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा असर परेको विषय उठाइएको थियो । सहभागीहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा समय व्यवस्थापन र सामग्री छनोटमा सचेत हुनुपर्ने धारणा राखेका थिए ।
वक्ताहरूले सामाजिक सञ्जाल र समाचारबीचको भिन्नता बुझ्न आवश्यक रहेको बताए । उनीहरूका अनुसार समाचार प्रमाणित सञ्चारमाध्यम, पत्रकार वा आधिकारिक संस्थाबाट तथ्य जाँच गरेर तयार गरिन्छ भने सामाजिक सञ्जालमा जोकोहीले जुनसुकै सामग्री पोस्ट गर्न सक्छ । त्यसैले सामाजिक सञ्जालमा देखिएको सबै सामग्री सत्य नहुन सक्ने भएकाले त्यसलाई अन्तिम सत्य मानेर धारणा बनाउन नहुनेमा जोड दिइयो ।
अन्तरक्रियामा सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना कसरी छुट्याउने भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो । वक्ताहरूले कुनै पनि सामग्री हेरेपछि त्यसको स्रोत के हो, कसले पोस्ट गरेको हो, आधिकारिक हो कि होइन भन्ने विषय जाँच गर्नुपर्ने बताए । यदि एउटै समाचार विश्वसनीय रेडियो, टेलिभिजन, राष्ट्रिय पत्रपत्रिका वा सरकारी वेबसाइटमा आएको छैन भने त्यसलाई शंकाको दृष्टिले हेर्नुपर्ने सुझाव दिइयो ।
कार्यक्रममा फेक आइडीको समस्या अहिले गम्भीर बन्दै गएको विषय पनि उठाइएको थियो । चर्चित व्यक्ति, नेता, कलाकार, पत्रकार वा सार्वजनिक व्यक्तित्वका नाममा नक्कली खाता बनाएर गलत सूचना फैलाउने, चरित्र हत्या गर्ने र आर्थिक ठगीसमेत हुने गरेको उल्लेख गर्दै यस्ता गतिविधिबाट बच्न विद्यार्थीहरूलाई सचेत गराइएकाे थियो ।
कार्यक्रममा बागमती प्रदेशसभाका प्रवक्ता प्रकाश चापागाई एवम् कानूनका उपसचिव प्रकाश चापागाईले सामाजिक सञ्जालबाट सही सूचना मात्र लिनका लागि आग्रह गरे । कार्यक्रममा सहजीकरण गर्दै चापागाईले सामाजिक सञ्जालमा धेरै खालका सूचनाहरु आउने गरेको र ती सूचना सत्य होकी होइनन् भनेर जाँच गर्नुपर्ने बताए ।
सूचना पाउने हक सबैको रहेकोले सबै सार्वजनिक निकायबाट सूचनाको हक सम्वन्धी कानूनको प्रयोग गरेर कुनैपनि प्राप्त गर्न सकिने सूचना लिन सकिने बताए । कुनैपनि भ्रामक सूचनाहरु फैलाउन नहुनेमा उनको जोड थियो । जेनजी आन्दोलनपछी भ्रामक सूचना धेरै फैलिएको र त्यसको असर परेको उनले बताए ।
कार्यक्रममा हेटौंडा स्कुलअफ म्यानेजमेन्टका सहायक प्रिन्सिपल राम पण्डीत खनालले अहिले सामाजिक सञ्जालमा धेरै खालका भ्रामक सूचनाहरु आउने गरेकाले त्यसबाट बेलैमा सचेत हुनुपर्ने बताए । कुनैपनि सूचना आधिकारिक होकी होइन भनेर पहिले बुझ्नुपर्ने बताए ।
संञ्चारिका समुह बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष तथा राजधानी दैनिकका पत्रकार सरिता दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष तथा जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सहजीकरण गरेका थिए ।
वक्ताहरूले फेक आइडी छुट्याउने केही आधारहरू पनि प्रस्तुत गरे । सामाजिक सञ्जाल प्लेटफर्ममा रहेको “ब्लु टिक” वा भेरिफिकेसन चिन्ह हेर्ने, प्रोफाइलको नाम र फोटो ध्यानपूर्वक अध्ययन गर्ने, पोस्टको भाषा र शैलीमा निरन्तरता छ कि छैन जाँच गर्ने तथा फलोअर संख्या र गतिविधि हेर्ने उपायबारे जानकारी दिइयो । उनीहरूका अनुसार आधिकारिक व्यक्तिहरूले सामान्यतया आफ्नै भाषा र शैलीमा निरन्तर सामग्री पोस्ट गर्ने गर्छन् । यदि कुनै खाताबाट अचानक उत्तेजक, घृणात्मक, अश्लील वा अस्वाभाविक सामग्री पोस्ट हुन थाल्यो भने त्यसलाई शंकाको दृष्टिले हेर्नुपर्ने सुझाव दिइयो ।
कार्यक्रममा सहभागी युवाहरूले सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा नकारात्मक नभएको पनि बताए । उनीहरूका अनुसार सामाजिक सञ्जाल आधुनिक शिक्षा, करिअर, प्रविधि र विश्वका नयाँ ट्रेन्डबारे जानकारी प्राप्त गर्ने प्रभावकारी माध्यम बनेको छ । अनलाइन कक्षा, अध्ययन सामग्री, तालिम र सीप विकासका सामग्री सहज रूपमा उपलब्ध हुने भएकाले यसको सकारात्मक प्रयोग आवश्यक रहेको धारणा व्यक्त गरियो ।
त्यस्तै व्यवसायिक प्रचार–प्रसारमा पनि सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको चर्चा गरिएको थियो । साना व्यवसाय, उद्यमी र सिर्जनशील युवाहरूले आफ्ना उत्पादन र सेवा प्रचार गर्न सामाजिक सञ्जाल प्रयोग गरिरहेको उदाहरण प्रस्तुत गर्दै सही तरिकाले प्रयोग गर्दा यसले आर्थिक अवसर सिर्जना गर्न सक्ने बताइयो ।
अन्तरक्रियामा सहभागीहरूले सामाजिक सञ्जालले युवाहरूलाई आफ्नो पहिचान, प्रतिभा र विचार प्रस्तुत गर्ने सहज प्लेटफर्म दिएको बताए । अहिले धेरै युवाहरू टिकटक भिडियो, फेसबुक पोस्ट, इन्स्टाग्राम रिल्स तथा युट्युब सामग्रीमार्फत आफ्नो सिर्जना प्रस्तुत गरिरहेका छन् । तर लोकप्रियता र भाइरलको मोहमा तथ्यहीन सामग्री बनाउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने धारणा राखिएको थियो ।
वक्ताहरूले आलोचनात्मक सोचको विकास अहिलेको आवश्यकता भएको बताए । सामाजिक सञ्जालमा देखिएको कुनै पनि सामग्री तुरुन्तै पत्याउने वा शेयर गर्ने संस्कारले समाजमा भ्रम सिर्जना गर्ने भएकाले तथ्य तुलना गर्ने, स्रोत पुष्टि गर्ने र अध्ययन गरेर मात्रै धारणा बनाउनुपर्नेमा जोड दिइयो ।कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि सामाजिक सञ्जाल प्रयोग गर्दा आफूहरूले भोगेका अनुभव साझा गरेका थिए । कतिपयले अपुष्ट समाचार शेयर गर्दा पछि गलत साबित भएको अनुभव सुनाउँदै अबदेखि आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै सामग्री शेयर गर्ने प्रतिबद्धता जनाए ।
विद्यार्थीहरूले सामाजिक सञ्जालले सिर्जना गरेको प्रतिस्पर्धात्मक मानसिकता, लाइक र फलोअरको दबाब तथा अनावश्यक तुलना गर्ने प्रवृत्तिले युवाहरूमा तनाव बढाएको अनुभव पनि सुनाए । उनीहरूले वास्तविक जीवनभन्दा सामाजिक सञ्जालको कृत्रिम जीवनशैलीलाई बढी प्राथमिकता दिनु चुनौतीपूर्ण बन्दै गएको बताए ।
सञ्चारकर्मीहरूले सामाजिक सञ्जालमा आएका सामग्रीलाई अन्तिम सत्य मानेर प्रतिक्रिया दिनु वा धारणा बनाउनु गलत हुने बताए । उनीहरूका अनुसार समाचार लेखनमा तथ्य, स्रोत, सन्तुलन र प्रमाणको विशेष ध्यान दिइन्छ भने सामाजिक सञ्जालमा व्यक्तिगत धारणा, हल्ला वा अपुष्ट दाबी पनि तीव्र रूपमा फैलिन सक्छन् ।
वक्ताहरूले सूचना प्रविधिको विकाससँगै डिजिटल साक्षरताको आवश्यकता पनि बढेको उल्लेख गरे । विशेषगरी युवा पुस्ताले सूचना पहिचान गर्ने क्षमता, तथ्य जाँच गर्ने अभ्यास र जिम्मेवार डिजिटल व्यवहार सिक्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले समय व्यवस्थापनमा समस्या ल्याएको विषय पनि उठाइएको थियो । धेरै युवाहरू राति अबेरसम्म मोबाइल चलाउने, अध्ययनको समयमा पनि सामाजिक सञ्जालमा व्यस्त रहने तथा फुर्सदको अधिकांश समय डिजिटल प्लेटफर्ममै बिताउने गरेको सहभागीहरूले बताएका थिए ।
सहभागीहरूले सामाजिक सञ्जालको सकारात्मक उपयोग गर्दै भ्रामक सूचना नियन्त्रणमा युवापुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्ने निष्कर्ष निकाले । “पहिले पुष्टि, अनि मात्रै विश्वास” भन्ने सोच विकास गर्न सके सामाजिक सञ्जालबाट फैलिने भ्रम, अफवाह र गलत प्रचार न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आधिकारिक सूचना रोज्ने, फेक आइडी र भ्रामक सामग्रीबारे सचेत रहने तथा सामाजिक सञ्जाललाई जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जनपत्र मिडिया प्रालिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ को आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम संसद सहयोग परियोजनाको सहकार्यमा गरेकाे कार्यक्रममा कलेजका प्राध्यापकहरु अनुराग अधिकारी, समिर तिमल्सिना लगायतकाको आतिथ्यता रहेको थियो ।

