मकवानपुर । मकवानपुरकाे हेटौंडामा कम्प्युटर विज्ञान शिक्षकका लागि कार्यशाला भएकाे छ । कम्प्युटर विज्ञान समाज मकवानपुरले मकवानपुरमा कम्प्युटर विज्ञान अध्यापनरत शिक्षकका १ दिने कार्यशाला गोष्ठी आयोजना गरेको हाे ।
शनिबार भएकाे कार्यशालामा पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञ तथा प्रशिक्षक नवीनकृष्ण मास्केले विद्यार्थीहरू शिक्षकभन्दा अघिअघि गइरहेको सन्दर्भमा शिक्षकहरूलाई चुनौति र अवसर दुबै रहेको बताउनुभयो । प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले तालिमलाई अवसरको रूपमा लिँदै आफू समेत अनुशासित हुँदै सिकाउने अभियानमा कटिबद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
कम्प्युटर विज्ञान समाज मकवानपुर अध्यक्ष दिनेश उप्रेतीले शिक्षकका लागि शैक्षिक सत्रको सुरूवातमैँ कम्प्युटर विज्ञान अध्यापनमा आइपर्ने समस्या पहिचान र समाधानका लागि सहजीकरण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।
अन्य विषयगत कार्यशाला तथा तालिमहरू निरन्तर भइरहेको सन्दर्भमा कम्प्युटर विषयका तालिमहरू कम देखिएको तर अध्यापनरत शिक्षकमध्ये युवाहरूको बाहुल्यता रहेकोले सिकाइका लागि आवश्यक ज्ञान र सिकाइ कम्प्युटर विषयका शिक्षक आआफ्नो बलबुँतामैँ पनि निरन्तर अपडेट भइरहेको भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरेले बताउनुभयो । प्रअ घिमिरेले कार्यक्रमले शिक्षकहरूका लागि विषयवस्तु अध्ययन, प्रश्न निर्माण र आन्तरिक तथा प्रयोगात्मक अङ्क निर्धारणसम्बन्धी सहजीकरण गरिएकाे बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष मुकुन्द न्यौपाने र हेटौंडा मोडर्न माविका प्रअ सुदीप बर्तौला लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे कार्यक्रममा सहभागी शिक्षकले स्थानीय तहले लागू गराएको स्थानीय विषयले कक्षा ६-८ मा कम्प्युटर विज्ञानलाई विस्थापन गर्ने अवस्था रहेको बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञ तथा प्रशिक्षक नवीनकृष्ण मास्के र विमल थापाले प्रशिक्षण गर्नुभएको कार्यक्रममा मकवापुरका २२ वटा विद्यालयका ३० जना कम्प्युटर शिक्षकको उपस्थित रहेकाे थियो ।
सनराइज पब्लिकेसन प्रालिकाे सहयोगमा आयोजित प्रबोधिकरण कार्यशालालाई जनप्रिय माविका शिक्षक संप्रस पौडेलले सहजीकरण गर्नु भएकाे थियो । कार्यक्रम समाज अध्यक्ष दिनेश उप्रेतीको अध्यक्षता र प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्यतामा भएकाे हाे ।

