मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानी सेवाग्राहीको घरमा पुर्याउने कार्यको थालनी गरेको छ । बुधबार हेटौंडा उपमहानगरपालिकाका सेवाग्राहीलाई हुलाक मार्फत घरमै राहदानी पुर्याएर प्रशासनले सेवा सुरु गरेको हो ।
जिल्ला हुलाक कार्यालय मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिका-४ का २२ वर्षीय निश्चल मानन्धरको राहदानी घरमै पुर्याएर बुझाएको छ । राहदानी बुझाउन हुलाक कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका कर्मचारी र हल्कारा मानन्धरको घरमै पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानी वितरण गर्न हुलाक कार्यालयलाई बुधबार ५० वटा राहदानी पठाएको छ । प्रशासनकार्यालयबाट हुलाकमा पठाएको राहहदानी बुधबार नै सबै घर-घरमा पुर्याइने जिल्ला हुलाक कार्यालय प्रमुख रमेश लामिछानले जानकारी दिए ।
सरकारले राष्ट्रिय परिचयपत्र, राहदानी लगायतको सरकारी कागजात सेवाग्राहीको घरमै हुलाक मर्फत पुर्याउने एक सय दिनमा गर्ने प्रतिबद्धतामा गरेको थियो । सरकारको प्रतिबद्धता कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा हुलाक कार्यालय मकवानपुरले उक्त कार्य सुरु भएको हो ।

