मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा, नेपाली कांग्रेसले ३ वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् । अहिलेसम्म ३ वटा पार्टीले जित निकाल्दा नेकपा एमालेले भने खाता खोल्न सकेको छैन ।
रास्वपाले काठमाडौं–१, काठमाडौं–६ र काठमाडौं–८ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः रन्जु दर्शना न्यौपाने, शिशिर खनाल, विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) काठमाडौं १ बाट विजयी भएकी छन् । उनी १५ हजार ४५५ मतसहित विजयी हुँदा कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत तथा राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे ।
कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर विजयी भएका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरे । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य रास्वपाका शिशिर खनाल विजयी भए । खनाल २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे। नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गरे ।
मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।
नेकपा संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । उनी रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यससँगै नेकपाले जितको खाता खोलेको छ । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरे ।
मनाङबाट निर्वाचित गुरुङले सांसद पदको शपथ लिन भने नपाउने बताइएकाे छ । विशेष अदालतबाट भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएकाले विजयी भएपनि शपथग्रहण गर्न पाउने छैनन् ।

