मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
तेज प्रसाद उप्रेती, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)
आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर क्षेत्र नम्बर–१ मा तेजप्रसाद उप्रेती उम्मेदवार छन् ।
साविक बसामाडी गाविस हालको हेटौंडा १९ वस्तिपुरमा ४२ वर्ष अघि जन्मिएका उप्रेती सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहदै आए । पहिलो पटक संसदीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका उनी सामान्य किसान परिवारमा जन्मिएका हुन् ।
• आमाले दूध बेचेर जुटाएको खर्चले +२ सम्म पढेका उनले स्नातक तह अध्ययनका क्रममा शिक्षण पेशा अँगालेर अध्ययन पूरा गरे ।
• अध्ययनको क्रममा केही समय अपाङ्गता भएका व्यक्तिहरूको सेवामा समर्पित रहँदै कोसान नेपाल मार्फत रौतहट जिल्लामा जिल्ला संयोजकका रूपमा समेत काम गरे।
• युवा अवस्थामै केहि गर्नुपर्छ भन्ने हुटहुटी भएको उनी रोजगारीको शिलशिलामा सन् २०११ मा दक्षिण कोरिया पुगेका थिए ।
• करिब आठ वर्ष प्रवासमा रहँदा पनि उनले देश भुलेनन्,जिल्ला भुलेनन् । त्यतिबेला उनले मकवानपुरे युवाको संगठित संस्था मकवानपुर कोरिया मञ्च, दक्षिण कोरियाको सन् २०१४ मा अध्यक्षको जिम्मेवारी सम्हाले ।
• कोरिया रहदा नै मकवानपुर जिल्ला रेडक्रस सोसाइटीलाई एम्बुलेन्स हस्तान्तरण, २०७२ को भूकम्पपछि स्वास्थ्य शिविर र राहत वितरण, साथै कोरोना महामारीका बेला स्वास्थ्य सामग्री व्यवस्थापन र वितरणमा नेतृत्वदायी भूमिका निभाएको बताउँछ उनी ।
• मानव सेवा आश्रम, मामाघर नेपाललगायत संस्थाका लागि सहयोग संकलन गर्नुका साथै एनआरएन, एनसीसी र सपोर्ट नेपाल फाउन्डेसन कोरिया मार्फत जिल्लाका दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण कार्यमा उनको नेतृत्वदायी भूमिका गरेको उनको भनाई छ ।
• राजनीतिक रूपमा उनी नयाँ शक्ति पार्टीका संस्थापक सदस्य हुन् । अन्तर्राष्ट्रिय नेपाली समाज, दक्षिण कोरियाका प्रथम निर्वाचित अध्यक्ष उप्रेती हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका संघीय सभा सदस्य छन् ।
• प्रवास जादा र रहदाको पीडा प्रत्यक्ष भोगेका उनी सन् २०१८ मा कोरियाको विकास मोडेल, प्रविधिलाई नेपालमा प्रयोग गर्ने सोच सहित स्वदेश फर्किएको बताउछन् ।
• नेपाल फर्किएपछि पनि सामाजिक सक्रियता निरन्तरता दिँदै लायन्स क्लबको शाखा अध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष तथा निवर्तमान राष्ट्रिय अध्यक्षका सल्लाहकार का रूपमा जिम्मेवारी सम्हालेका छन् ।
• उनलाई कोरियास्थित नेपाली दूतावासबाट उत्कृष्ट सामाजिक नेतृत्व अवार्ड-२०१४, फोनिज कोरियाको वेस्ट अर्गनाइजेसन अवार्ड-२०१६, कोरियाको नगर सामाजिक अवार्ड-२०१६ सहितका सम्मान प्राप्त गरेका उनी विभिन्न देशको भाषिक तथा प्राविधिक रूपमा पनि दक्ष छन्।
• हाल व्यवसायीको रूपमा चिनिएका उप्रेती ए.आर. ग्रुप अफ कम्पनीको प्रबन्ध निर्देशक, आरम्भ सप्लायर्स एण्ड सेनेटरिका प्रोप्राइटर छन् ।
• राजनीतिक अस्थिरताका कारण जनतामा बढ्दो निराशा, दोहोरो कर प्रणाली, प्रशासनिक बेथिति, चरम भ्रष्टाचार, बजेट वितरणमा असमानता, विकास निर्माणमा ढिलासुस्ती, राष्ट्रिय स्वाधिनता, सामाजिक सुरक्षाको प्रत्याभूति, शिक्षा–स्वास्थ्य र कृषि क्षेत्रमा देखिएको बिचौलिकरण एबम राजनीतिक हस्तक्षेप, बेरोजगारीका कारण बढ्दो विदेश पलायन तथा महिला अधिकारको सुनिश्चितता,जेञ्जी आन्दोलनको मर्मलाई सम्बोधन गर्ने जस्ता मुद्दा लिएर मतदातामाझ पुगेको बताउछन्।
“उन्नत विचार सहितको विकल्प” भन्ने मूल नाराका साथ प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर उम्मेदवारी दिएका उप्रेतीले स्वतन्त्र र दलका गरि २२ जनासंग प्रतिस्पर्धा गर्दैछन् ।

