मकवानपुर । बागमती प्रदेशसभा सदस्य भारती पाठकले स्थानीय तहमा स्थानीय वन ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेकाे बताएकी छिन् । प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल नेपाल (WRRN) को संयोजनमा खाद्य तथा कृषि संगठन (FAO) नेपालको आयोजनामा हेटौंडामा भएकाे अन्तरक्रिया कार्यक्रममा पाठकले उक्त कुरा बताइकी हुन् ।
‘वन, वातावरण र जलवायु परिवर्तन अहिले विकासको केन्द्रिय एजेन्डा बनेको छ’ उनले भनिन् ‘प्रदेशसभाको विषयगत समितिमा यी विषयमा नीतिगत छलफल भइरहेको छ। नीति बनाउनु मात्रै पर्याप्त हुँदैन, स्थानीय तहसम्म पुर्याएर कार्यान्वयन गराउन सकिए प्रतिफल देखिन्छ ।’ महिला जनप्रतिनिधिहरूको सक्रिय सहभागिताले दिगो वन व्यवस्थापन र जलवायु अनुकूलनकार्यक्रम सफल हुने उनले बताइन् ।
कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले आफ्नो पालिकाले हरेक वर्ष वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको बताइन् । ‘अन्तरक्रियाले जलवायु परिवर्तनका असरकाे जानकारी प्राप्त हुने भएकाेले स्थानीय आवश्यकताअनुसार कार्यक्रम बनाउन मद्दत पुगेको छ उनले भनिन् ।’ जलवायु परिवर्तनका असर हामीले दैनिक जीवनमै भोगिरहेका छौँ, त्यसैले स्थानीय सरकारको योजना पनि त्यसअनुसार नै हुनु पर्ने उनकाे भनाई थियाे ।
मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामीले मनहरी गाउँपालिकाले आम्दानीसँग जोडिएको सामुदायिक वन व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन् । पालिकाको सक्रियता, उपभोक्ता समूहको सहभागिता र उद्यममुखी वन व्यवस्थापनका कारण पछिल्ला वर्षमा वन क्षेत्रमा आगलागीसमेत नभएको उनले दावी गरिन् । ‘वनलाई संरक्षण मात्र होइन, आम्दानी र रोजगारीसँग जोड्दा समुदाय स्वयं वनको संरक्षणमा जुट्छ’ उनले भनिन् ‘आगामी दिनमा थप दिगो वन व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम ल्याउन यो कार्यक्रमले मार्गदर्शन गरेको छ ।’
बकैया गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी माझीले जलवायु परिवर्तन, वन संरक्षण र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा आफ्नो बुझाइ थप स्पष्ट भएको बताइन् । महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै अघि बढेमा मात्र दिगो विकास सम्भव हुने उनकाे भनाइ थियाे ।
प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जालकी अध्यक्ष आरती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा वन, वातावरण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी महिला नेतृत्वले वन संरक्षण, जलवायु परिवर्तन अनुकूलन र स्थानीय जीविकोपार्जनलाई एकआपसमा जोडेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय तहका महिला तथा पुरुष जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, नवयुवा, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा वन वातावरण संरक्षणलाई महिला सशक्तीकरण, स्थानीय समृद्धि र जलवायु सहनशील विकाससँग जोडेर अघि बढाउनुपर्नेमा सहभागीहरूबीच सहमति जुटेको थियो।
सहभागीहरूले वन र वातावरण संरक्षणलाई केवल संरक्षणको दायरामा सीमित नराखी नीति, बजेट र कार्यान्वयनको स्पष्ट खाकासहित अघि बढाउनुपर्नेमा जोड दिएका छन्। स्थानीय तहमा महिला नेतृत्वको सक्रियताले दिगो वन व्यवस्थापन र जलवायु परिवर्तनको चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको भनाई थियो।

