मकवानपुर । मकवानपुरकाे हेटौंडामा बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएकाे छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले दोस्राे बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्न लागेकाे हाे ।
खेलकुद समितिले शुक्रबार हेटौंडामा पत्रकार भेटघाट गरी २०८२ माघ २८ गतेदेखि २०८२ फागुन १२ गतेसम्म खेलकुद व्यापार महोत्सव सञ्चालन हुने जानकारी दिएकाे हाे । हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित टीसीएन चौरमा हुने महोत्सवमा राष्ट्रिय तथा जिल्लास्तरीय खेलकुद समावेश हुने समिति अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, जिल्लास्तरीय व्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगिता समावेश गरिनेछ । यसैगरी महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुती रहनेछ । उनका अनुसार जनजाति समुदायको साँस्कृतिक झाँकी प्रदर्शनका साथै कृषि, पर्यटन, हस्तकला प्रदर्शनी तथा बाल उद्यान समेत महोत्सवमा समावेश गरिने छ ।
महाेत्सवकाे अवधिमा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सान्त्वना हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताइएकाे छ । यसैगरी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वना हुने टिमले १० हजार रुपैयाँ पुरस्कार हात पार्ने छन् ।
यस्तै, जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा सान्त्वना स्वरुप ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
महोत्सवको अवसरमा खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान दिएका १० जना खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने अध्यक्ष मोक्तानले बताए । हेटौंडा बजार सडक बिस्तारका क्रममा विस्थापित भएका व्यवसायीहरुले महोत्सवमा स्टल राख्न चाहनु भएमा ५० प्रतिशत छुट उपलब्ध गराउने आयोजकले जनाएकाे छ । महोत्सवमा करिब चार सय स्टलहरू रहने अपेक्षा आयोजकले गरेको छ ।
करिब ८० लाख रुपैया खर्च हुने अनुमान महोत्सवबाट प्राप्त हुने आम्दानी मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिदमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले गर्ने तथा समापन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्ने छन् ।

