मकवानपुर । बागमती प्रदेशकी मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । मंगलबार बस्नेतलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीशले सपथ ग्रहण गराए ।
प्रदेश प्रमुखको कार्यालय, हेटौंडामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले मुख्यन्यायाधिवक्ता बस्नेतलाई शपथ गराएका हुन् । मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्यन्यायाधिवक्ता बस्नेतले शपथ लिएकी हुन् ।
आइतबार मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेका बस्नेत नेपालकै पहिलाे मुख्यन्यायाधिवक्ता हुन् । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार रहने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारलाई कानुनी विषयमा राय, सल्लाह र निर्देशन प्रदान गर्नुका साथै, प्रदेश सरकारको तर्फबाट अदालतमा उपस्थित भई प्रदेशको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत मुख्यन्यायाधिवक्ताको रहनेछ ।
शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं, प्रदेश सरकारका मन्त्रीहरू लगायत उपस्थित थिए ।

