मकवानपुर । हेटौंडाका अटो रिक्साहरुको व्यवस्थित पार्किङका लागि स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइएकाे छ । नेपाल अटो इ-रिक्सा व्यवसायी संघको आठौं साधारण सभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अटो रिक्साको व्यवस्थित पार्किङका लागि ध्यानाकर्षण गराएका हुन् ।
संघकाे साधारण सभा उद्घाटन गर्दै सिटौलाले हेटौँडामा पार्किङको समस्या भइरहेकाले हेटौंडा उपमहानगरले यसको व्यवस्थापन गर्न चासो लिन आग्रह गरे। ‘हाल संचालनमा रहेकाे २ हजार ५ सय भन्दा बढी अटो रिक्साहरुको हेटाैंडामा पार्किङ व्यवस्थापनकाे जिम्मा उपमहानगरपालिकाले लिनु पर्छ’ उनले भने । ‘यातायातको संख्या बढेको बढ्यै छ तर ससाना सडक र सडकसँग जोडिएका घरले समस्या भइरहेको छ’ उनले भने ‘यातायात व्यवसायी महासंघ हेटौंडाकाे सडक विस्तारको पक्षमा छ ।’
सिटौलाले यो सरकारले यातायात क्षेत्रमा केही राहत दिने गरी काम गर्न लागेको बताए । ‘हामीले विगतमा कैयौं सरकारसँग यातायात क्षेत्र सुधारका लागि हारगुहार गरेका थियौँ, सुनेन, यो सरकारले केही काम गर्न खोजेको अनुभूत गरेका छौं नतिजा कुरेका छौं’ उनले भने । एक महिनामा केही विवरण आउने आशा गरेकाे बताउँदै उनले भने ‘सरकारले विभिन्न समिति बनाएर यातायात क्षेत्र सुधारको काम गरिरहेको छ ।’ सरकारका प्रधानमन्त्री, गृहमन्त्री, जेन्जी आन्दोलनका अगुवा सुदन गुरुङसँग पनि यातायात क्षेत्र सुधारका लागि सकारात्मक अन्तरक्रिया भएको सिटौलाले बताए ।
‘यातायात व्यवसायी नै लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) मा जोडिने गरेका छौं, यसमा महासंघ र यातायात संघले कुनै क्षमा दिन सक्दैन, तपाईंहरुले यात्रुसँग नरम व्यवहार गरिदिनुहोस्, ट्राफिक प्रहरीलाई पनि मद्दत गरिदिनुहोस्’ उनले भने । सबै अटो व्यवसायीलाई दर्ता गर्ने ठाउँमा दर्ता र नवीकरणमा पनि सरिक हुन उनले आग्रह गरे । ‘जेन्जी आन्दोलनले प्रहरी प्रशासनलाई कमजोर बनाइएको छ, उनीहरु हाम्रै सहयोगका लागि हुन्‘ उनले भने ‘हामीले मद्दत गरे उनीहरुले पनि हामीलाई मद्दत गर्छन्, हामी कुनै पनि अपराधयुक्त काममा जोडिनु हुन्न ।’
संघ अध्यक्षमा गौतम
बिहीबार भएको संघको पाँचौं अधिवेशनले भीम प्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्षमा होमलाल देउला, सचिवमा भीम बहादुर पाख्रिन, कोषाध्यक्षमा गोविन्द प्रसाद तिमिल्सिना चयन भएका छन् । यस्तै, सदस्यहरुमा फणिन्द्र सञ्जेल, सूर्यबहादुर थिङ, हरिप्रसाद न्यौपाने, उत्तम अधिकारी र टेक प्रसाद न्यौपाने चयन भएका छन् ।
संघका अध्यक्ष नवराज घिमिरेको अध्यक्षमा भएको कार्यक्रममा संघका उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासभिव सरोज खनाल, यातायात क्षेत्रका माधव अधिकारी, ज्ञानेन्द्र कार्की, रञ्जना बर्तौलालगायत सम्बाेधन गरेका थिए । संघमा २ हजार ५ सय सदस्य छन् ।

