मकवानपुर । नेकपा एमाले ११ औं केन्द्रिय महाधिवेशनको लागि मकवानपुरकाे प्रतिनिधि चयनका लागि आज निर्वाचन भइरहेकाे छ । मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधिहरुकाे चयन सहमतीबाटै टुङ्ग्याइएकाे छ भने क्षेत्र नम्बर १ बाट चयन हुने ८ जना प्रतिनिधिकाे लागि निर्वाचन भइरहेकाे छ ।
४ हजार १०९ जना मतदाता रहेकाे क्षेत्र नम्बर १ मा खुला तर्फ ४ जना, महिला तर्फ ३ जना र युवा तर्फ १ जना गरी ८ जना प्रतिनिधि चयनका लागि २९ जना चुनावी मैदान छन् । प्रतिनिधि चयनकाे लागि तोकिएकाे समय सिमा गत बुधबारसम्म ४९ जना चुनावी प्रतिष्पर्धामा रहेकाेमा शुक्रबार २० जनाले उम्मेदवारी फिर्ता लिए पछि २९ जनाकाे उम्मेदवारी कायम गरिएकाे निर्वाचन कमिटी संयोगक सूर्य चन्द्र न्यौपानेले जनाकारी दिए ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुला तर्फ ३० जनाले उम्मेदवारी दिएकोमा निर्वाचनकाे लागि १७ जनाकाे उम्मेदवारी कायम भएकाे हाे । यसैगरी महिला तर्फ ९ जनाले उम्मेदवारी दिएकाेमा निर्वाचनकाे लागि ७ जनाकाे कायम भएकाे छ भने युवा तर्फ १० जनाले उम्मेदवारी दिएकोमा निर्वाचनकाे लागि ५ जनाकाे उम्मेदवारी कायम भएकाे संयोगक न्यौपानेले बताए ।
महाधिवेशनको लागि जिल्लाबाट १७ जना प्रतिनिधि चयन हुने छन् । दलित क्षेत्र अन्तरगत १ जना प्रतिनिधिकाे लागि जिल्ला भरिबाट निर्वाचित हुने छन् । दलित क्षेत्र तर्फ २६२ जना मतदाता रहेकाे एमाले मकवानपुरले जनाएकाे छ । प्रतिनिधिमा एमालेका जिल्ला अध्यक्ष देखि निर्वाचित जनप्रतिनिधि समेत प्रतिष्पर्धामा छन् ।
क्षेत्र नम्बर २ काे प्रतिनिधि निर्विरोध
महाधिवेशन प्रतिनिधिका लागि मकवानपुर क्षेत्र नम्बर–२ बाट ८ जना निर्विरोध चयन भएका छन् । खुला तर्फ बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई चयन भएका छन् ।
यसैगरी महिला तर्फ सुमित्रा काफ्ले, भगवती पुढासैनी, गिता प्रजा चयन हुँदा युवा तर्फ रोहण लामा निर्विरोध चयन भएकाे निर्वाचन कमिटिले जनाएकाे छ । ४ हजार २६४ जना मतदाता रहेकाे क्षेत्र नम्बर २ मा खुला तर्फ १६ जना, महिला तर्फ १० र युवा तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
महाधिवेशन प्रतिनिधिमा खुला तर्फ उम्मेदवारी दिएका हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यहरूलाई प्रतिनिधि छनोटसहित सबै प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । ‘पार्टी एकता, नीति तथा नेतृत्व निर्माणमा महाधिवेशनको महत्वपूर्ण भूमिका रहने छ’ उनले भने ‘लाेकतान्त्रिक विधिलाई आत्मसाथ गर्दै मित्रवत् प्रतिस्पर्धामा हामी सहभागी बनिरहेका छाैँ । मलाई विश्वास छ, पार्टीकाे आन्तरिक जीवनलाई सृदृढ, एकताबद्व र गतिशिल बनाउन स्वस्थ लाेकतान्त्रिक अभ्यास महत्वपूर्ण रहनेछ ।’
भक्तपुरकाे सल्लाघारीमा २७ मंसिरमा उद्घाटन भई काठमाडौंकाे भृकुटी मण्डपमा बन्दसत्र हुने एमालेको ११औँ महाधिवेशनमा देशभरका प्रतिनिधि सहभागी हुनेछन्।

