मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समितिकाे विस्तारित बैठक शुक्रबारबाट चितवनमा सुरु भएकाे छ । केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डी.पी. अर्यालद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको तत्कालीन सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुने उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यलाई ‘अर्जुनदृष्टि’ बनाउँदै वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गर्ने घोषणा प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रतिवेदनले पुराना दलहरूको विकल्पमा एक सशक्त शक्ति निर्माण गर्न समान विचार भएका दल, समूह र व्यक्तिहरूसँग एकीकरण गर्ने, सम्भव नभए मोर्चाबन्दी गर्ने र त्यो पनि नभए मुद्दामा आधारित सहकार्य गर्ने रणनीति अघि सारेको छ।
यसैबीत रास्वपाले सङ्गठन विस्तारका क्रममा देखिएका चुनौतीहरूलाई स्वाभाविक भएको बताएका छन् । केन्द्रीय विस्तारित बैठकमा सहभागी जिल्लाका प्रतिनिधिहरूले युवा पुस्ता (जेनजी) को पूर्ण साथ आफूहरूसँग रहेको दाबी गरेकाे छ । पार्टीका विभिन्न तहका नेताहरूले केही प्रभावशाली व्यक्तिहरू बाहिरिँदैमा पार्टीको लक्ष्य र यात्रामा कुनै असर नपर्ने उनीहरुले बताएका छन् ।
पार्टीको आगामी कार्यदिशा र चुनावी रणनीति तय गर्न चितवनको सौराहामा सुरु भएको दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिने छ । बैठकमा आगामी निर्वाचन रणनीति, पार्टी सङ्गठन विस्तार, पार्टीको विचार सिद्धान्तको बारेमा थप स्पष्ट गर्नेबारे छलफल हुने बताइएकाे छ ।
रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले वैधानिकता, एजेन्डा र अपेक्षित परिणामबारे बैठकमा विस्तृत छलफल हुने बताए । वाग्लेका अनुसार पार्टीको विधानले पहिलो महाधिवेशन नहुन्जेलसम्मको सङ्क्रमणकालीन अवस्थामा केन्द्रीय समितिलाई विशेष अधिकार दिएको छ। सोही अधिकार प्रयोग गर्दै र फराकिलो दायरामा छलफल गर्न केन्द्रीय समितिले यो विस्तारित बैठक आयोजना गरिएकाे हाे ।
‘यो बैठक कर्तव्य बोध र उदारताका साथ आयोजना गरिएको हो ।’ विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो ६० जनाको सामूहिक विवेकभन्दा पनि अझ फराकिलो ढङ्गले राय, विमर्श र चिन्तन गरौँ भन्ने उद्देश्य हो।’
राजनीतिक प्रतिवेदन यहाँबाट हेर्न सकिनेछः
विस्तारित बैठक कार्यवाहक सभापति डीपी अर्यालको राजनीतिक प्रतिवेदन

