मकवानपुर । जेनजीको आन्दोलनका क्रममा क्षति पुगेको हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले बुधबारबाट सेवा सुरु गरेको छ ।
आन्दोलनको क्रममा गत भदौ २४ गते ४ नम्बर वडा कार्यालयको सबै सामान जलाइएको थियो । वडाको सामाग्री जलेपछि अत्यावश्यक सामानको जोहो गर्दै वडाले १५ दिनपछि बुधबारबाट सबै सेवा सुचारु गरेको हो । वडा कार्यालयले आन्दोलनको क्रममा भएको क्षतिको विवरण सार्वजनिक र चार्ड पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर सेवा सुरु गरेको हो ।
आन्दोलनको क्रममा आगजनीबाट वडा कार्यालयको कम्प्युटर पाँच थान, स्क्यान र प्रिन्टर ७ थान, ल्याप्टप २ थान, मोटरसाइकल १ थान र दराज, टेबल, कुर्सी, फ्रिज, सोफा, बायोमेट्रिक्स मेसिनलगायतका कार्यलयका जिन्सी तथा प्रशासन लेखा र योजनाको फाइन जलेर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए।
“देशैभरि भएको क्षति दुःखद हो, वडा कार्यालय, स्वास्थ्य कार्यालयमा क्षति पुग्दा सेवा प्रवाह प्रभावित भएको छ, शून्य अवस्थामा वडा कार्यालय छ, छोटो समयमा न्यूनतम आवश्यक स्रोत साधन जुटाएर वडाको सेवा वडावासीसम्म प्रवाह गर्दै छौँ,’’ वडाध्यक्ष सिग्देलले भने । जस्तो सुकै सङ्कटमा पनि एक ढिक्का भएर अगाडि बढ्न कार्यालयको व्यवस्थापन गरेर सेवा प्रवाह सुरु गरिएको उनले बताए।
आन्दोलनको क्रममा वडा कार्यालयसहित नगर विकास समितिकाे समेत जिन्सी सामग्री समेत जलाइएकाे वडा सचिव आरपी गुरागाईले जानकारी दिए । उनका अनुसार अनुमानित लागत २५ लाख बराबरको सरकारी सम्पत्तीकाे क्षती भएको छ ।
यसैवीच टोल विकास नगर समन्वय समिति हेटौंडाले वडा कार्यालयलाई एक थान कम्प्युटर सहयोग गरेको छ । समितिले हेटौंडाको क्षती पुगेको ६ वटा वडा कार्यालयलाई १/ १ थान कम्प्युटर सहयोग गरेको अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए । समितिले ४ नम्बर वडा सँगै ३,१०,११,१५ र १९ नम्बर वडालाई कम्प्युटर सहयोग गरेकाे हाे ।
सेवा सुचारुसहितको शुभकामना कार्यक्रममा जनप्रतिनिधि कर्मचारी, टोल विकास सस्थाका प्रतिनिधि, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतकाले सहभागिता रहेको थियो ।

