मकवानपुर । देशभर एकैपटक नयाँ पुस्ता (जेनजी) नेतृत्वमा सुरु भएको आन्दोलन मकवानपुरमा पनि जारी छ । सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार विरुद्ध लगायतको सवालमा तीव्र बनाइएको आन्दोलनले मकवानपुरको हेटौंडामा आज बिहान १० बजेदेखि नगरपालिका रोड हुँदै बुद्धचोकसम्म शान्तिपूर्ण र्याली निकालेको थियो ।
भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने र सरकारी निकायलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले सुरु गरिएकाे आन्दोलनमा अहिले हेटौडाको बुद्धचोकमा प्रदर्शनकारीहरुको संङ्ख्या बढ्दो छ । हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन्।
प्रतिबन्ध लगाइएको सन्दर्भमा टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो। विशेषगरी टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ ले तहल्का मच्चाइरहेको छ, जहाँ नेताका छोराछोरीको आलिशान जीवनशैलीमाथि युवाहरूले प्रत्यक्ष प्रश्न उठाएका छन्। ‘करप्ट पोलिटिसियन चाइल्ड’ शीर्षकमा हजारौं भिडियो बनेका छन्। ती भिडियोमा यस्तो सन्देश दिइएको छ| देशभर एकैपटक जेनजी नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको उत्रेका हुन् ।
काठमाडौंमा कर्फ्यू
जेनजी प्रदर्शनी निषेधित घेरा तोड्न थालेपछि काठमाडौंमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

