मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा बेलायत गएका छन् । एक साताका लागि मुख्यमन्त्री लामा बेलायत जानुभएको उनकाे सचिवालयले जनाएकाे छ ।
मुख्यमन्त्री लामा निजी कामकाे शिलशिलामा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बुधबार बेलायत प्रस्थान गरेका हुन् । बेलायतमा मुख्यमन्त्री लामा धादिङ–नुवाकोट समाज र तामाङ समुदायद्वारा आयोजित औपचारिक कार्यक्रममा समेत सहभागी हुने सचिवालयले जनाएकाे छ ।
मुख्यमन्त्रीको विदेश भ्रमण अवधिमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीकाे सिफारिसमा २५ असारबाट लागू हुने गरी श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।


