मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा मकवानपुरका ४६.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुरकाे सार्वजनिक सूचना अनुसार मकवानपुर जिल्लाबाट परीक्षा दिने कुल ५८८७ मध्ये ३१२८ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। २८१० जना सामान्य विधाबाट र १३२ जना प्राविधिक विधाबाट गरी कुल ३१२८ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
सामान्यतर्फ ४७.०४ प्रतिशत र प्राविधिकतर्फ ४२.३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। दुबै गरेर ४६.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकाे शिक्षा विकास तथा समन्वय इकाईले जनाएकाे छ । यसपटक इनकम्प्लिट परीक्षार्थी संख्या २२९ रहेको छ ।
जिल्लाकाे नतिजा अनुसार, ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ५ जना रहेको छ । ४.० जीपीए भन्दा कम र ३.६ जीपीए भन्दा माथि ल्याउने विद्यार्थीको संख्या ३७२ जना सामान्य तर्फ र ६ जना प्राविधिक तर्फ गरेर जम्मा ३७८ जना रहेको छ ।
त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउनेमा ८०२ जना (सामान्य ७७२, प्राविधिक ३०) , २.८ देखि ३.२ जीपीए ल्याउने ९८१ जना (सामान्य ९२७, प्राविधिक ५४), २.४ देखि २.८ जीपीए प्राप्त गर्ने ५३९ जना (सामान्य ५३२, प्राविधिक ७) तथा २.० देखि २.४ जीपीए प्राप्त गर्ने ५४ जना विद्यार्थी रहेकाे इकाईले जनाएकाे छ ।
यस वर्ष मकवानपुरले गत वर्षभन्दा नतिजामा सुधार ल्याएको छ । गत शैक्षिक सत्रमा मकवानपुरका ५ हजार सात सय ५२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएकामा २ हजार ९८ जना उत्तीर्ण भएका थिए ।
३६.४७ प्रतिशत विद्यार्थी मात्रै ११ कक्षामा भर्ना हुन योग्य हुँदा ३ हजार ६ सय ५४ जना विद्यार्थी ननग्रेडेड (एनजी) भएका थिए ।

