मकवानपुर । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार प्रकाशित नतिजाअनुसार ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
२०८२ काे एसइईमा ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएकाे छ । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा कसरी हेर्ने?
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्स मार्फत हेर्न सकिनेछ । नेपाल टेलिकमको एसएमएस/यूएसएसडी र आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ ।
त्यस्तै, जानकी टेक्नोलोजी प्रालिको एसएमएस मार्फत हेर्न ३५००१, आकाश टेक प्रालिबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिन्छ । राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
पूरक परीक्षा मिति तय
बाेर्डले एसईईको पूरक परीक्षाकाे मिति तय भएको छ । २०८१ सालकाे एसइई परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेसँगै पूरक परीक्षाको मिति समेत बार्डले तय गरेको हो ।
जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएर आएकाे छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको हो ।
यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणितमा ननग्रेडेड (एनजी) अर्थात फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी एनजी आएको हो ।
गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् । त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।
बागमती प्रदेशबाट बढी उत्तीर्ण
एसइई २०८१ मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजा अनुसार बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् ।
त्यसपछि लुम्बिनी प्रदेशबाट विद्यार्थी उत्तीर्ण भएका छन् । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
पुनर्योगका लागि असार २३ गते भित्र आवेदन दिन सकिने
एसइईको नतिजामा चित्त नबुझे २३ असार भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।
पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको बाेर्डले जनाएकाे छ । परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने बोर्डले भनेको छ । पुनर्योगका लागि २३ असार बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ ।

