मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुर मकवानपुरले कविता प्रतियोगीता सहित विभिन्न विधामा पुरस्कार वितरण गर्ने भएको छ । आँचलले पत्रकार भेटघाटमा यस्तो जानकारी गराएको हो ।
आँचलले यसवर्ष मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान २०८१, मुक्ति-तारा नवप्रतिभा सम्मान-२०८१, सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान- २०८१ र आँचल सम्मान २०८१ प्रदान गर्ने भएको हो ।
शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८१ तुलसी मेहर मेमोरियल मा. वि. मा अध्ययनरत् अनुश्रुया खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । नगद ३५ हजार सहित सम्मानपत्रबाट सम्मानित गरिने यो सम्मान २०७६ सालबाट प्रदान गर्न थालिएकाे हो ।
यसैगरी साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उहाँकी धर्मपत्नी तारा वैद्यले २०७७ मा स्थापना गर्नु भएको मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८१ मकवानपुरे नवप्रतिभा स्वस्तिका दाहाललाई प्रदान गर्ने निर्णय भएको आँचल अध्यक्ष भावना सापकोटाले बताउनु भयो । २०७७ सालबाट प्रदान गर्न लागिएको यो सम्मान ५ हजार १ राशिसहित सम्मानपत्र रहेको छ ।
समाजसेवी चन्द्र किरण श्रेष्ठ र उहाँकी धर्म पत्नी मेनुका शर्माले आफ्ना आमाको स्मृतिमा २०७७ मा स्थापना गर्नुभएको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८१ कवि पुरुषोत्तम आचार्यलाई प्रदान गरिने आँचलले जनाएको छ । २०७७ सालबाट प्रदान गर्न लागिएको यो सम्मानमा १० हजार १ राशिसहित सम्मानपत्र रहेको छ ।
आँचल साहित्य कला पुञ्जले प्रदान गर्ने गरेको आँचल सम्मान २०८१ यस पटक अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्याए वापत प्रकाश लम्साललाई प्रदान गरिने भएको छ । आँचलको स्थापनाको समयदेखि नै मकवानपुरमा रहेर विभिन्न विद्यामा कृयाशिल व्यक्तिहरूलाई प्रदान गर्ने गरिएको भएता पनि २०७९ देखि यता यस सम्मान आँचलमा अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउनु हुने व्यक्तिहरूलाई प्रदान गरिएको छ ।
यो पुरस्कार यसअघि २०७९ मा साहित्यसेवी मुक्ति गोविन्ध वैद्य, २०८० मा हरिवशं भेटवाललाई प्रदान गरिएको थियो । संस्थाको अक्षयकोक्ष स्थापनामा सहयोग गर्नुका साथै आफूलेसमेत अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्याउनु भएकाले लम्सालप्रति कदर भावका साथ यो सम्मान गर्न लागिएको सापकोटाले बताइन् ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा वृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आगामी १७ जेठमा हुनेछ ।कार्यक्रममा बालबालिका, अभिभावक र आजको समाज विषयक मनोपरामर्श कार्यक्रम र डिजिटल स्क्रिनको प्रभाव विषयक बहस समेत हुने छ ।
यसैगरी विद्यालय (८–१२) तहस्तरीय कविता प्रतियोगिताका लागि १४ जेठसम्म प्राप्त कविताहरुमध्येबाट १० उत्कृष्ट कविता छनोट गरि १० कविहरूको रचना वाचन गर्ने र उनीहरूबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना कवितालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

