मकवानपुर । मकवानपुरकाे हेटौंडामा जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । आगामी २४ जेठमा पहिलो संस्करणको जिल्लास्तरीय प्रतियोगिता हुन लागेकाे हाे ।
मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (बालकुमारी आइकेओ) युनियनको आयोजनामा हेटौंडा–४,पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा जिल्लास्तरीय फुलकन्ट्याक्स कराँते प्रतियोगिता हुने संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य छ’ उनले भने । युवा जनशक्तिको उत्पादन गर्न, मानसिक रुपमा स्वस्थ बनाउन र जिल्लामा खेलको विकास गर्नका लागि संघले पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागेको प्रशिक्षक श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः स्वर्ण, रजत र काँस्यपदक सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, महिला र पुरुषतर्फको एक/एक जना उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा ११ वर्षदेखि २५ उमेर समूहका खेलाडीहरुले सहभागी हुन पाउने उनले जानकारी दिए । संघका प्रशिक्षक सुमन कर्मचार्यको संयोजनमा हुने प्रतियोगितमा महिलातर्फ ४ वटा विधामा र पुरुषतर्फ ५ वटा विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहने छ भने महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहने छ ।
मकवानपुरको हेटौंडा उपमहानगरसहित मनहरी गाउँपालिका, बागमती गाउँपालिका र थाहा नगरपालिकाबाट महिला तथा पुरुषगरी करिब १ सय ५० जना खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहने आयोजकले अनुमान गरेकाे छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि खाजा र खानाको व्यवस्था आयोजकले गर्ने उनले जानकारी दिए । प्रतियोगिताकाे लागि करिब २ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेकाे छ । प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकासँग सहयोगको लागि प्रस्ताव पेश गरिएकाे बताइएकाे छ ।

