मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा बाेरिङ सिँचाई आयोजना संचालनमा आएकाे छ ।बागमती प्रदेश सरकारकाे सहयोगमा निर्माण भएकाे बकैया – ७ स्थित हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको बुधबार उद्घाटन गरेसँगै संचालनमा आएकाे हाे ।
आयोजनाको नेपाली काँग्रेसकी सह–महामन्त्री एवम् पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र प्रदेश खानेपानी उर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्काले संयुक्त उद्घाटन गरेका हुन् ।
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले रासायनिक मलको कारण माटोको उर्वराशक्ति ह्रास हुँदै गएकोले रासायनिक मलको विकल्प खोज्न आवश्यकता रहेको बताइन् । ‘जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिन्छ’ उनले भनिन् । स्थानीय सरकारले जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाईमन्त्री खड्काले प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाइको व्यवस्था गरेर रोजगारी सिर्जना गर्न सकिने बताए । ‘नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनु पर्छ’ उनले भने । मन्त्री खड्काले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता बताए ।
कुल ३६ लाख लागतमा सम्पन्न आयोजनाबाट बकैयाका १५ बिगाहा क्षेत्रफल जमिनमा सिँचाई सुविधा उपलब्ध हुने छ । १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीले बताए । हर्दाका स्थानीय आकाशे पानीको भरमा वर्षको एकबाली मात्रै खेती गर्दै आएका थिए । बाेरिङकाे ब्यवस्था भएपछि वर्षभर खेती गर्न पाउने भएकाले उत्साहित बनेका छन् ।
सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेको सभाध्यक्षतामा भएकाे उद्घाटनमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, पूर्व पालिका अध्यक्ष दामोदर खनाललगायतकाे उपस्थिती थियो ।

