मकवानपुर । मकवानपुरकाे हेटौंडामा २८ बैशाख (आज) बाट प्रदेश युवा सम्मेलन हुँदैछ । ३० बैशाखसम्म हुने प्रदेश युवा सम्मेलनमा नीति निर्माण, सिप तथा उद्यम र प्रविधिमा युवाहरूको भूमिका र अवस्थाका विषयमा छलफल गरिने छ ।
प्रदेश युवा परिषद्ले आयोजना गर्ने तस्राे सम्मेलनमा बागमती प्रदेशसहित अन्य प्रदेशका ३०० बढी युवाको प्रत्यक्ष सहभागिता रहने परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले बताए । बागमती प्रदेश सहित अन्य प्रदेशबाट युवाहरूको सहभागिता रहने गरी कार्यक्रम तयारी गरिएको उनले बताए ।
सम्मेलनमा प्रदेशका ५० स्थानीय तहबाट युवा उद्यमीहरूको सहभागिता रहने छ भने सम्मेलनमा सहभागिताका लागि प्रदेश युवा परिषद् गठन भएका सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ५/५ जना र परिषद् गठन नभएका प्रदेशबाट सामाजिक विकास मन्त्रालयको सिफारिसमा १०/१० जना युवाहरूलाई सहभागी गराइने भएकाे छ । यी बाहेक अनलाइन मार्फत १५० जना सहभागी छनौट गरिएको चौलागाईंले जानकारी दिए ।
सम्मेलनले प्रदेश स्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उनले बताए । परिषद्ले २०७८ मा गरेको सर्वेक्षणमा युवाले नीति संवादको प्लेटफर्मको आवश्यकता महसुस गरेकाेले त्यसैकाे आधारमा युवा सम्मेलनको अवधारणा ल्याइएको चौलागाईं बताउँछन् ।
‘तेस्रो शृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनमा ७ प्रदेशका युवाहरू सहभागी बन्ने वातावरण निर्माण भएको छ । प्रत्यक्ष रूपमा ३०० बढी युवाहरू समेटिए पनि राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषद्को वेबसाइट मार्फत डिजिटल माध्यमबाट युवालाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ’ उनले भने ।
सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरूसँग प्यानल छलफल र कार्यशाला गोष्ठी हुने उनको भनाई छ । सम्मेलनमा सहभागीहरूलाई नेपालकै पहिलो सुरुङ मार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गरिने उनले बताए ।
बागमती सरकारले वार्षिक नीति तथा कार्यक्रममा युवा सम्मेलन समेटी बजेट विनियोजन गर्दै आएको छ। परिषद्का अनुसार अघिल्ला दुई आर्थिक वर्षमा १० हजार ५ सयभन्दा बढी युवाले विभिन्न सीप तालिम प्राप्त गरेका छन् भने चार सय ५ जना युवाले आफ्नै उद्यम सुरु गरिसकेका छन्। युवाको नीति संवाद र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित सम्मेलन प्रदेशको युवा विकासकाे यात्रामा एक महत्वपूर्ण पाइला हुने उनले बताए ।
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको समेत उनले बताए । सम्मेलनको उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेसभुसा, सांस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित रयाली गरिनेछ भने सम्मेलन पश्चात् घोषणापत्र समेत जारी गरिने छ ।

