मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्काे मंगलबारकाे बैठकले प्रदेश सभाकाे वर्षे अधिवेशन आव्हान गर्ने, पर्यटन विकास आयोजना सहितका कार्यालयहरु खारेज गर्ने, ५ जना सचिवहरुको पदस्थापन तथा सरुवा गर्नेलगायतका निर्णय गरेका छ ।
बागमती प्रदेश सरकारले प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन ५ जेठ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदकाे बैठकले वर्षे (बजेट अधिवेशन) ५ जेठका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट अधिवेशन ५ जेठ बिहान ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ । यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन बैठक २० चैतमा अन्त्य गरिएको थियो ।
यसैगरी बागमती प्रदेश सरकारले पर्यटन विकास आयोजना सहितका कार्यालयहरु खारेज गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २ वटा पर्यटन विकास आयोजना र २ वटा पर्यटन कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।
पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौंडा र पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौं खारेज गर्ने निर्णय गरेको हो । बैठकले उपत्यका पर्यटन कार्यालय काठमाडौं र पर्यटन कार्यालय चितवनलाई खारेज गर्ने निर्णय गरेको हो । अस्थायी संरचनाको रुपका रहेको उक्त कार्यालयहरु खारेज गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।
उनका अनुसार पर्यटन मन्त्रालयको संगठन संरचना तेरिज स्वीकृत गर्दै उक्त अस्थायी कार्यालयहरु खारेज गर्ने निर्णय गरेको हो । बैठकले उक्त कार्यालयहरुको विकल्पमा स्थायी संरचनाको रुपमा पर्यटन कार्यालहरु स्थापना गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश राजधानी हेटौंडामा मन्त्रालय र एक कार्यालय रहने तथा प्रदेशका अन्य ४ जिल्लाहरु नुवाकोट दोलखा चितवन र काठमाडौंमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रशासनका कर्मचारी प्रमुख रहनेगरी मन्त्रालय र मातहतका निकायमा साविकको ११७ जनाको दरबन्दीलाई घटाएर १०६ कायम गर्ने निर्णय गरेकाे छ । यसअघि २ वटा आयोजनामा प्राविधिक तर्फका इन्जिनिय र वन अधिकृत प्रमुख रहने व्यवस्था रहेको थियो ।
यस्तै बागमती प्रदेश सरकारले ५ सचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ । संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर गरेको हो ।
संघीय सरकारबाट प्रदेशमा आएका बैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुषाललाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र झलकराम अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव विनु बज्राचार्य र सहकारी तथा गरिवी निवारण मन्त्रालयमा प्रदेशसभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
प्रवक्ता लामिछानेका अनुसार बैठकले उद्योग मन्त्रालय अन्तर्गत भू-उपभोग परिषद् गठन गरी २ जना विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । जसमा तानसेन पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय भएकाे छ ।
बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्रदेश उच्च शिक्षा परिषद्को पदेन सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वंयसेवक समुह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ । कुल १ करोड बजेट रहेको उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रम स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । मुख्यमन्त्री कार्यालयको कम्प्युटर अपरेटर (सहायक पाँचौ/अधिकृत छेठौं) लाई प्रशासनिक कर्मचारीको रुपमा प्रयोग गर्नेगरी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।

