मकवानपुर । विद्यार्थी जीवनको शिक्षाको आधार भनेर परिभाषित गरिदै आएको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएकाे छ । मकवानपुर जिल्लाका २८ वटा केन्द्रमा साधारण, प्राविधिक र ग्रेडवृद्धि तर्फ गरी १५६ जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन् ।
यस वर्ष मकवानपुरबाट साधारण, प्राविधिक र ग्रेडवृद्धिका गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले एसइईकाे लागि फर्म भरेकाेमा १५६ जना अनुपस्थित रहेकाे शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएकाे छ । साधारण तर्फ ५ हजार ५६७, प्राविधिक तर्फ २२० तथा ग्रेड वृद्धि तर्फ ४५६ जना एसइईमा सहभागी भएकाे इकाईले प्रकाशित तथ्याङ्कमा उल्लेख छ ।
साधारण तर्फ २ हजार ९०८ जना छात्र र २ हजार ६५९ जना छात्रा परीक्षामा सहभागी भए भने ३५ जना छात्र र २८ जना छात्रा परीक्षामा अनुपस्थित भएका छन् । यस्तै प्राविधिक धार तर्फ १०८ जान छात्र र ११२ जना छात्रा परीक्षामा सहभागी हुदाँ ४ जना छात्र र ३ जना छात्रा अनुपस्थित रहेका छन् । यसैगरी ग्रेड वृद्धि तर्फ १९३ जना छात्र र २६३ जना छात्रा परीक्षामा सहभागी हुँदा ४४ जना छात्र र ४२ जना छात्रा अनुपस्थित रहेकाे इकाईले जनाएकाे छ ।
मकवानपुरको भिमफेदीमा रहेको क्षेत्रीय कारागारबाट ६ जनाले एसइई परीक्षा दिएका छन् । विभिन्न कसुरमा जेल जीवन भोगिरहेका ६ जना कैदीबन्दीले भीमफेदी कारागारबाट यस वर्ष एसईई दिएका हुन् । उनीहरुले परीक्षाको पहिलो दिन बिहीबार भीमफेदी कारागारमै बसेर परीक्षा दिए । सवारी ज्यान, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसइई परीक्षामा सहभागी भएको कारागारका जेलर तिर्थराज पौडेलले बताए ।
हेटौंडा उपमहानगरपालिका—२ स्थित सिद्धार्थ माविबाट एसईई फाराम भरेका कैदीबन्दीहरुले जेलभित्रबाटै परीक्षा दिने व्यवस्था मिलाइएको थियाे । सुरक्षाकर्मीको समन्वयमा सिद्धार्थ माविका शिक्षकले नै उत्तरपुस्तिका र प्रश्नपत्र कारागार पु¥याएका दिए । यसैगरी मकवानपुरको हेटौंडा ११ मा रहेको बाल सुधार गृहका २ जना बालकहरु पनि परीक्षमा सहभागी भएका छन् ।
मकवानपुरमा एसइईकाे लागि २८ वटा परीक्षा केन्द्र तोकिएकाे शिक्षा समन्वय इकाई प्रमुख सुदिप गिरीले जानकारी दिए । गत वर्ष २६ वटा मात्रै परीक्षा केन्द्र तोकिएको मकवानपुरमा कैलाश गाउँपालिकाको नामटारस्थित कालिका माविमा साधारण तर्फ र हेटौंडाको श्रमिक माविमा प्राविधिक धारकाे लागि परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले बताए । कैलाश गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएसँगै मकवानपुरको सबै स्थानीय तहमा एसइईकाे परीक्षा केन्द्र कायम भएको छ ।
जिल्लामा एसइई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी परिचालन गरिएकाे इकाईले जनाएकाे छ । जिल्लामा सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसइईमा विद्यार्थी सहभागी भएका हुन् ।
बागमती गाउँपालिकाको जनता मावि फापरवारी केन्द्रमा ४ वटा विद्यालयका विद्यार्थी सहभागी भएका छन् । यसैगरी बकैया गाउँपालिका हात्तीसुडेस्थित बुद्ध मावि परीक्षा केन्द्रबाट ७ विद्यालयका, बकैयाकै महेन्द्र मावि छतिवन परीक्षा केन्द्रमा ६ विद्यालयका हेटौंडा उपमहानगरपालिका हटियाको जनप्रीय मावि परीक्षा केन्द्रमा ७ वटा विद्यालयका, महेन्द्र मावि भीमफेदी परीक्षा केन्द्रमा ५ विद्यालयका, थाहानगर पालिकास्थित जनकल्याण मावि पालुङ्ग परीक्षा केन्द्रमा ८ विद्यालयका, थाहा नगरकै मत्स्य नारायण मावि परीक्षा केन्द्रमा ३ विद्यालयका, सरस्वती बालबोधनी मावि मार्खु परीक्षा केन्द्रमा ५ विद्यालयका, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी मावि परीक्षा केन्द्रमा ४ विद्यालयका मनहरीकै महेन्द्र किरण मावि ज्यामिरे परीक्षा केन्द्रमा ४ वटा विद्यालयका हेटौंडा बसामाडीस्थित महेन्द्र किरण मावि केन्द्रमा ३ वटा विद्यालयका, हेटौंडा १९ बस्तिपुरको निर्मल मावि परीक्षा केन्द्रमा ७ वटा विद्यालयका परीक्षार्थी सहभागी भए ।
यसैगरी हेटौंडा ६ स्थित वंशगोपाल मावि चौघडा परीक्षा केन्द्रमा ३ वटा विद्यालयका, हेटौंडाकै आधुनिक मावि परीक्षा केन्द्रबाट ८ वटा विद्यालयका, बालज्योति मावि हेटौंडा पिप्ले परीक्षा केन्द्रमा ३ वटा विद्यालयका, हेटौंडा १० ज्ञानदा मावि परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका, हेटौंडा ४ स्थित भुटनदेवी मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका, हेटौंडा २ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका विद्यार्थीले एसइईमा सहभागी भए । मकवानपुरका २ वटा संस्थागत विद्यालयमा समेत एसइईको परीक्षा केन्द्र निर्धारण गरिएकोमा हेटौंडा ५ स्थित जीएस निकेतन परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका, हेटौंडा १० स्थित सोलिड्यारिटी इङ्गलिस एकेडेमी परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका परीक्षार्थी सहभागी भए ।
यस्तै हेटौंडा ९ स्थित प्रगति मावि परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका, थाहा नगरपालिका स्थित बज्रवाराही मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका, हेटौंडा १ स्थित अमर मावि परीक्षा केन्द्रबाट २ वटा विद्यालयका, मकवानपुरगढी ६ स्थित जालपादेवी मावि परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका, हेटौंडा ८ स्थित चन्द्रोदय मावि परीक्षा केन्द्रबाट ६ विद्यालयका, प्रजा जागृति मावि राक्सिराङ परीक्षा केन्द्रबाट ५ वटा विद्यालयका, कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका मावि परीक्षा केन्द्रमा ५ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भए ।
यस्तै प्राविधिक तर्फका परीक्षार्थीहरुको लागि थप गरिएको हेटौंडा ४ स्थित श्रमिक मावि परीक्षा केन्द्रबाट १० वटा विद्यालयका नियमिततर्फ तथा ग्रेडवृद्धितर्फका विद्यार्थीले परीक्षा दिएका छन् ।

