मकवानपुर । साहित्यकार माया ठकुरीसहित ११ जना हेटौंडामा सम्मानित भएका छन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले शनिबार ठकुरीसहित ११ जना व्यक्तित्वलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको हाे ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८१ बाट काठमाडौंका साहित्यकार ठकुरी सम्मानित भएकी छिन् । २५ हजार रुपैंया राशीकाे पुरस्कारबाट ठकुरी सम्मानित भएकी हुन् । यसैगरी भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८१ बाट गायक हेमन्त शर्मा (रुपन्देही) सम्मानित भएका छन् । भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८१ कलाकार भोलाराज सापकोटा (मकवानपुर) लाई प्रदान गरिएकाे छ भने भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८१ पत्रकार ठाकुर बेल्वासे (काठमाडौं) लाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारहरुकाे राशी जनही २५/२५ हजार रुपैंया रहेकाे छ ।
वरिष्ठ कलासाधक भीम विराग सक्रिय रहेकाे साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटै क्षेत्रलाई समेटेर हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले उल्लेखित पुरस्कार गत वर्ष स्थापना गरेको हाे । यस वर्षबाट प्रतिष्ठान उक्त पुरस्कार प्रदान गरेको हाे । यस्तै प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई प्रदान गर्दै आइरहेका विभिन्न ७ वटा पुरस्कार तथा सम्मान समेत शनिबार प्रदान गरेकाे छ ।
तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८१ बाट महिला उद्यमी शोभा श्रेष्ठ (मकवानपुर) सम्मानित भएकी छिन् । समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ । यसैगरी भीम–मथुरा बाल प्रतिभा पुरस्कार, २०८१ विद्यार्थी रितिका छत्कुली (मकवानपुर) लाई प्रदान गरिएकाे छ । विन्दुगोपाल गोर्खालीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ ।
यसैगरी शिला नारी पुरस्कार, २०८१ बाट महिला उद्यमी मेनका श्रेष्ठ (मकवानपुर) सम्मानित भएकी छिन् । आशीष श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ । यस्तै रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८१ बाट लाेक दोहाेरी गायक कुलेन्द्र विश्वकर्मा (पर्वत) सम्मानित भएका छन् । चुनु बानियाँले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी २० हजार रुपैंया रहेकाे छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८१ बाट साहित्यकार दीपक गौतम (मकवानपुर) सम्मानित भएका छन् । रामबहादुर पाख्रिनले स्थापना परेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ ।
मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८१ बाट स्वास्थ्यकर्मी निर्मला ब्लोन (मकवानपुर) सम्मानित भएकी छिन् । देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ । अजित सेन- कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार, २०८१ बाट दृष्टीविहीन मेकानिक सुदर्शन ढकाल (मकवानपुर) सम्मानित भएका छन् । रोशन सेन गुप्ता स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ ।
सम्मानित व्यक्तित्वहरुलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजले तथा पुरस्कार संस्थापकहरुले नगर पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार तथा सम्मान कार्यक्रमकै दिन शनिबार प्रतिष्ठानको कोष वृद्धिको उद्देश्यले गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति सहितको साङ्गीतिक कार्यक्रम समेत आयोजना गरिएकाे थियाे । गायक द्वयले आफ्ना लाेक प्रीय गीतहरु प्रस्तुत गरेका थिए ।
वरिष्ठ कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरुप ७ भाद्र २०५९ भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल स्थापना भएकाे हाे । नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा देश तथा विदेशमा रही उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान गर्दै आइरहेको प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।

