मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाकाे लागि स्नातकोत्तर तह (पीजी) मा ८ सिट थप भएकाे छ । प्रतिष्ठानकाे लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा ८ सिट थप गर्ने निर्णय गरेकाे हाे ।
सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजहरुमा गरेर विभिन्न विषयमा गत वर्षको तुलनामा थप २३१ सिट संख्या थप गर्ने निर्णय गरेकाे आयोगले प्रतिष्ठान हेटौंडाका लागि ८ सिट थपेकाे हाे । प्रतिष्ठानका उपप्राध्यापक सुपेन्द्र कार्कीका अनुसार गत वर्ष पीजीमा एक सिट पनि नपाएकाे प्रतिष्ठानले सन् २०२५ काे लागि ८ सिट प्राप्त गरेकाे बताए ।
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औं बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गर्दा मदन भण्डारी प्रतिष्ठानका लागि सिट संख्या थप भएकाे छ। बैठकले प्रदेशका दुई प्रतिष्ठानमा २२ सहित १४ वटा संस्थामा २३१ सिट थप गर्ने निर्णय गरेको हो। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहित १७ औं बैठकले २३१ सिट थप गर्ने निर्णय गरेको आयोगले जानकारी दिएकाे हाे ।
यो वर्ष सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान र संस्थाहरुमा गरेर पीजीमा सबै विषय गरेर एक हजार २६ सिट पुगेको छ। गत वर्ष यी संस्थाहरुमा ७९५ सिट थियो।
गत साता प्रतिष्ठानलाई पीजीमा १ सिट प्राप्त भएकाे बताइएकाे थियाे । पीजीमा अध्यापन हुने भए संगै हेटौंडा अस्पतालमा बिशेषज्ञ सेवाको सुरुवात हुनेछ ।

