मकवानपुर । मकवानपुरकाे हेटौंडा १४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बुधबार वडाले पत्रकार भेटघाट गर्दै वडालाई २५ माघ शुक्रबार बालमैत्री वडा घोषणा गरिने जनाएकाे छ ।
यो सँगै उपमहानगरको १९ वटौ वडाहरु बालमैत्री स्थानीय शासनयुक्त हुने भएका हुन् । सबै वडाहरु बालमैत्री घोषणा भएसँगै हेटौंडा उपमहानगरपालिका १ फागुनमा बालमैत्री नगर घोषणा हुँदैछ । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो ।
हेटौंडा १४ का वडाध्यक्ष एवम बालमैत्री स्थानीय शासनयुक्त बडा घोषणा मुल समारोह समिति संयोजक दीपक खड्काले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिए । बालमैत्री घोषणाकाे लागि ताेकिएका ५१ वटा सूचकमध्ये ४७ वटा सूचकमा सतप्रतिशत, बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने चरणमा आइपुगेको अध्यक्ष खड्काले बताए ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह संजाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समिति लगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् । ‘पूर्ण खोप वडा घोषणा पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक सूचकहरुमा अभ्यास गरी घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आईपुगेका छौ’ वडाध्यक्ष खड्काले भने ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण-२०७९ अनुसार १८ वर्ष मुनिका २ हजार ४ सय ९४ बालबालिका छन् । जसमा एक हजार २ सय ६७ बालक र एक हजार २ सय २७ बालिका रहेका छन् । कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ४८ दशमलव ४४ प्रतिशत बालिका र ५१ दशमलव ५५ प्रतिशत बालक रहेका छन् । सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहित ६ वटा विद्यालय सञ्चालनमा रहेको उनले बताए । २२ वटा बाल समूह र एक वडा बाल सञ्जाल रहेकाे वडामा ५ सय ५० जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिमा समेत गरी ५ सय ७० बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उनकाे भनाई रहेकाे छ ।

