मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अझै पनि प्रदेशले संघसङ्ग काम, कर्तव्य अधिकारलगायतका विषयमा गुनासो हुने गरेकोले ति सवालमा समयसङ्गै सच्चिदै जानुपर्ने बताउनु भएको छ ।
‘अब हामीलाई गुनासो अनि यो र त्यो कुराको बहानावाजी गर्ने छुट छैन, प्रदेश संरचनाको बारेमा अनेक खाले टीकाटिप्पणी भैरहदा शब्दले जवाफ दिनुभन्दा सटिक कार्यसम्पादनमार्फत् प्रदेश सभा र प्रदेश सरकारको औचित्य पुष्टी गर्न सक्नुपर्दछ’ उहाँले भन्नु भयाे ।
चुस्त दुरुस्त व्यवस्थापनमा खटिने प्रदेश सभा सचिवालयको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनु भएको छ । शुक्रबार बागमती प्रदेशसभाको सातौ वार्षिकोत्सव विशेष कार्यक्रममा उहाँले यस्ताे बताउनु भएको हो ।
‘प्रदेश सभाले यथेष्ट कार्यसुची पाउनुपर्छ र जनसरोकारका विषयहरू प्रदेश सभामा गुन्जिनुपर्छ ’ उहाँले भन्नुभयो। । कानुनहरू छिटो, छरितो,चुस्तदुरुस्तरूपमा निर्माण हुनुपर्नेतर्फ उहाँले सभाकाे ध्यानाकर्षण गराउनु भयो ।
मुलुकको संघीय संरचना अन्तर्गत बागमती प्रदेश सभाको पहिलो अधिवेशन शुरू भएको मिति १८ माघको अवसर पारेर प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रदेशसभा सचिवालयले वार्षिकोत्सव मनाएको हो ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्षता भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाई, मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्व सभामुख सानुकुमार श्रेष्ठ, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलगायत प्रदेश सरकारका मन्त्री र सांसद्हरुको उपस्थिति रहेको थियो ।

