मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे छुट्टाछुट्टै २ स्थानबाट लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका बाट २ जना र हेटौंडा–१५ रातोमाटेबाट २ जनालाई गाँजा १९२ किलो सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
बुधबार दिउँसो हेटौंडा–१५ स्थित प्रहरी चौकी रातोमाटेकाे प्रहरी टोलीले १ सय ७५ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३ ००१ च १५८४ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्दा प्रहरीले उक्त गाँजा बरामद गरेको हो । प्रहरीले लागूऔषधसहित गाडी चालक बकैया गाउँपालिका–४ का २४ वर्षीय सुमन लामा र बकैया–११ का २४ वर्षीय सुशील भोलनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लामा र भोलनलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी प्रहरी मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, ढुङगुखोलाको बगरबाट २ जनालाई १७ किलो ६ सय ग्राम गाँजासहित पक्राउ गरेको हाे । उक्त स्थानमा शंकास्पद रुपमा हिडिरहेका पर्सा जिल्लाको पर्सागढी नगरपालिका–८ का ४६ वर्षीय देवीलाल सहनी र पर्सागढी नगरपालिका–१ का ३२ वर्षीय रामनारायण रामलाई उक्त परिमाणकाे गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई सहनी र रामलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

