मकवानपुर। मधेश प्रदेशकाे बारा जिल्लामा आँखा अस्पताल सञ्चालनमा आएको छ । बाराकाे निजगढ नगरपालिकामा तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा आएकाे हाे ।
बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पतालकाे मधेश प्रदेशका मुख्य मन्त्री सतिस सिहले २८ कार्तिक २०८१ मा अस्पतालकाे उदघाटन गरेसँगै सेवा सुचारु भएको छ । करिव ३० करोडको लागतमा बनेको अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको बताइएकाे छ ।
मुख्यमन्त्री सिंहले आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिने बताए । निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले भने ‘राम्रो आँखा उपचार भन्नासाथ तिलगंगा भनेर सम्झिथ्यौ जसको लागि काठमाडौं कि हेटौडा जानुपर्थ्यो तर अहिले तिलगंगा हाम्रै आगँनमा आएको छ । हामी निजगढवासी र वरिपरि क्षेत्रका लागि यो एकदमै खुशीको क्षण र ठूलो उपलब्धी हो ।’
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना साकार भएको बताए । ‘यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ’ द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने ।
निजगढ नगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा करिब १९ करोड लागतमा आँखा अस्पताल निर्माण गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रबन्धक सुधीर श्रेष्ठले जानकारी दिए । निजगढ आँखा अस्पतालमा वरिष्ठ नेत्र स्वास्थ्य विशेषज्ञको नेतृत्वमा आकस्मिक र बहिरंग सेवाका साथै शल्यक्रिया सेवा समेत प्रदान गरिने उनले बताए । ‘अनौपचारिक रुपमा सेवा सुरु गरेको आँखा अस्पतालमा करिब ४ हजार ५ सय जनाले बहिरंग सेवा लिएका र ३ सय २४ जनाकाे आँखाको शल्यक्रिया गरिएकाेछ’ उनले भने ।
आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ ।
मधेश प्रदेशमा आँखाका विरामीकाे संख्या उल्लेख्य रहेकाले निजगढलाई उपयुक्त स्थान मानेर हेटौंडाको सामुदायिक आँखा अस्पतालकै ढाँचामा अस्पताल निर्माण गरिएको हाे । नेपालमा करिव ९३ हजार ३०० जना दृष्टिविहिन र करिव ७ लाख ८२ हजार ७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेकाे तथ्याङ्क छ । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको तथ्याङ्कले देखाउँछ । यद्यपी ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव हुने गरेकाे छ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो ।
अन्धोपन भएका मध्ये अनुमानित ६६.८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ । नेपालमा महिलामा पुरुषको तुलनामा दुई तिहाई बढी दृष्टिविहिन वा दृष्टिको समस्या रहेकाे बताइन्छ ।

