मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानमा चोरीको घटना संलग्न ९ जनालाई नियन्त्रणमा लिएको छ । ९ जना मध्ये १ जना ३ वटा घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको चोरीको श्रृखला १६ दिनअघिबाट सुरु भएको थियो । जसमा पहिलो घटना थियो नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको तार चोरीको घटना । १७ दिनअघि चोरी भएको तार सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ जनालाई नियन्त्रणमा लिएको हो ।
गत असोज २२ गते रातको समयमा चोरी भएको हेटौंडा सिमेन्ट उद्योगको झण्डै १० लाख रुपैयाँको तामाको तार सहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो ।
मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ९ लामसुरे स्थित हेटौडा सिमेन्ट उद्योगको पश्चिम तर्फको रोपवेदेखी क्रसरसम्म जाने ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाको तारहरु काटि चोरी भएको थियो ।
प्रहरी अनुसन्धानको क्रममा चोरी भएका तारहरुको बाहिरी खोलहरु उद्योग नजिक प्लटिङ गरेको जग्गामा फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा २२ असोजमा हेटौंडा १२ बनस्पती निवारी २२ वर्षिय मनिराम थोकरले सोही स्थानको हार्डवयर पसलबाट ह्याक्सो ब्लेड खरिद गरी लगेको जानकारी पाएपछि थोकरलाई निगरानीमा राखेको थियो ।
अनुसन्धानको क्रममा ७ कात्तिकमा मनिराज थोकरलाई नियन्त्रणमा लिएको थियो । थोकरका अनुसार हेटौंडा १३ बस्ने २८ वर्षिय सन्तबहादुर तितुङलगायत अन्य करीब ७ जना व्यक्तीहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरी उद्योग नजिकै प्लटिङ गरेको जग्गमा ल्याई तारहरु छिलेर हेटौंडा ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलमा बेचेका थिए ।
पसल सञ्चालक भारतीय नागरिक, भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नं. ७ बस्ने दिल खुश कुमार साहलाई बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरीमा संलनहरु मनिराम थोकर, सन्त बहादुर तितुङ र कवाडी संचालक दिल खुश कुमार साहलाई नियन्त्रणमा लिई चोरी तथा डांका मुद्धा कसुरमा म्याद थप गर्ने कार्य भईरहेको छ । अन्य फारारहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुर प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गांजा सहित १ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेउमनपा वडा नं. १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको गाडीबाट गाँजा नियन्त्रणमा लिएको जनाएको छ ।
बागमती प्रदेश ०१–०२५ च ७८७१ नं. को योद्धा पिकअप गाडी र सो गाडी भित्र रहेका हेटौंडा वडा नं. ३ बसामाडी बस्ने २४ वर्षिय पन्चलाल थिङलाई नियन्त्रणमा लिइएको छ । गाडीमा ३ वटा बोरा भित्र रातो प्लाष्टिकले बेरिएको १० वटा पोकामा १०५ किलो ६९ ग्राम लागू औषध गाँजा फेला परेकोले थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी कात्तिक ३ गते हेटौडा उमनपा वडा नं.८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा ८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय समिर घिमिरे र २४ वर्षिय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । मकवानपुर प्रहरीले नगद चोरीको गर्ने अर्को २ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर हेटौडा उमनपा वडा नं.८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट ६० हजार मुल्य बराबरको १ थान साउण्ड सिस्टम, र नगद २० हजार चोरी भएको घटनामा संलग्न १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले पत्रकारसम्मेलनमा जानकारी दिइएको हो । प्रहरी प्रवक्ता श्यामु अर्याल अनुसार हेटौंडा ८ बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठकै संग्नता रहेको प्रहरीले जनाएको छ।
यसैगरी कात्तिक ३ गते हेटौंडा २ बाट चोरी भएको मोटरसाइकल पनि शुसान्त श्रेष्ठको साथबाट नियन्त्रणमा लिइएको छ । ना ३ प ४७३ नं. को मोटरसाइकल हेटौंडा ८ बस्ने २४ वर्षिय सुशान्तकै साथबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय मकवानपुरगढि मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मकवानपुरगढि गाउँपालिका २ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा चोरीको समान सहित १ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रदेश २–०१–००३ प ६१०५ नं.को मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका ३ घर भई हाल फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७.२३ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । चौधरीद्वयमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यस्तो थियो सिमेन्ट उद्योग तार चोरी प्रकरण
मकवानपुर । २३ कात्तिकमा उद्योगको तार चोरी भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको निर्देशनमा उद्योग प्रशासनले छानबिन समिति बनाएर काम
ग-यो ।
हेटौंडा–९ स्थित लामसुरेमा रहेको सरकारी स्वामित्वको उद्योगबाट असोज २२ गते राति करिब एक सय मिटर तामाको तार चोरी भएको थियो । उक्त विषयमा प्रहरी र प्रशासनले एक हप्तापछि जानकारी प्राप्त भएको जनाएको थियो । तर, घटनाको विषयमा प्रहरीकै कुरा बाझिएको भन्ने तिव्र आलोचनाका बीच प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । तार चोरी भएको भोलिपल्ट बिहान उद्योगभित्र रहेको मन्त्रीको क्वार्टरका सुरक्षा गार्डले घटनाको विषयमा इलाका प्रहरी कार्यालय पशुपति नगरलाई जानकारी गराएको बताएको थियो ।
तर कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक विमलाकुमारी कठायतले आफूहरुलाई खबर नभएको बताएपछि प्रहरीमाथि नै शंका गरिएको थियो ।
उद्योगभित्रै रहेको बागमती प्रदेशका मन्त्री क्वार्टरको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक शिवमंगल चौधरीले इलाका प्रहरी कार्यालय पशुपति नगरलाई घटनाको विषयमा जानकारी गराएका थिए । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले मसिनो गरी गरिएको अनुसन्धानले प्रहरीलाई सफलता मिलेको बताए ।
प्रजिअ चिलुवालले सात दिनभित्रमा तार चोरी घटनाको प्रतिवेदन पेस गर्न उद्योग प्रशासनलाई निर्देशन दिएका थिए । उनले जिल्ला प्रशासन कार्यालयमा उद्योगका महाप्रबन्धक बसन्त पाण्डेलाई बोलाएर घटनाको विषयमा प्रतिवेदन तयार पार्न र प्रहरीलाई सहयोग गर्न निर्देशन दिएका थिए ।
गत जेष्ठमा मात्रै हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन समितिको अध्यक्ष पद सम्हालेका नरेन्द्र भण्डारी उद्योगको तार चोरीको घटना रहस्यमय भएको बताए । सुरक्षा गार्डले तत्काल खबर नगर्नु रहस्यको प्रमुख कारण भएको भण्डारीले बताएका थिए ।

