मकवानपुर । पोलियो दिवसमा रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरले विविध कार्यक्रम गर्ने भएका छन् ।
मंगलबार हेटौंडामा पत्रकार भेटघाट दुवै राेटरी क्लबले संयुक्त रुपमा अक्टोबर २४ अर्थात कार्तिक ८ गतेकाे पोलियो दिवस विविध कार्यक्रमहरु आयोजना गरी मनाउन लागेको जनाएको हो । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले कार्यक्रमको पहिलो दिन ७ कार्तिकमा हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धी सुचनामुलक ब्यानर राखिने जानकारी दिए ।
त्यसैगरी दिवसको मुख्य दिन ८ कार्तिकमा विहान साईकल र्यालीको आयोजना गरिने छ । पोलियो उन्मूलन अभियानमा साथै दिऔ भन्दै हेटौंडा २ स्थित मकवानपुर उद्योग वाणिज्य संघको चोकबाट सुरु गरिने साईकल र्यालीले नगर परिक्रमा गर्ने अग्रवालले बताए ।
उक्त दिन हेटौंडाको सीमाचोकमा रहेको डिजिटल बोर्डबाट ‘इन्ड पोलियो नाउ’ लेखिएको जानकारीमुलक सूचना सामग्री प्रसारण गरिने छ भने बेलुकी हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरी कार्यक्रमको समापन हुने बताइएकाे छ।

