मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आइतबार कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । म्याद दिएसँगै प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौँबाट पक्राउ परेको उनलाई सोही राति पोखरा पुर्याइएको थियाे । उनी पक्राउ परेसँगै पार्टी नेता कार्यकर्ता भने आक्रोशित बन्दै सडकमा उत्रिएका छन् । आइतबार पनि पोखरामा दिनभर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण पोखरामा निशेधाज्ञा समेत जारी गरिएकाे थियाे ।
यसैबीच पार्टी सभापति लामिछाने पक्राउको विरूद्धमा पार्टीका नेता तथा कार्यकर्ताले ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र दिने भएको छ । लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन लागिएको रास्वपाले जनाएकाे छ ।

