मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकालले राजीनामा दिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष शुक्रवार ढकालले राजीनामा बुझाएका हुन् ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क) अनुसार ११ कार्तिकबाट लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै राजिनामा दिएको उनले बताए । प्रदेश सरकारले सहसचिव स्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेकाे बताइएकाे छ ।
प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको ३ सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने संवैधानिक प्रावधान रहेकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका पूर्व निर्देशक महेश्वर श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउने तयारीमा प्रदेश सरकार रहेकाे बताइएकाे छ ।

