मकवानपुर । बेचबिखन प्रभावितहरूलाई बालबालिकाको शिक्षा र दैनिकी गुजारा चलाउन समस्या हुने गरेको प्रभावितहरूले बताएका छन् । गैससको सहयोगको कारण आफूहरूलाई सहज भएको उनीहरुले बताएका छन् ।
सुनिता फाउण्डेन नामक गैरसरकारी संस्थाको सहयोगमा कुखुरा, बाख्रा व्यवसाय गर्नको लागि सहयोग गरेपछि केहि राहत मिलेको उनीहरूले बताएका हुन् ।
सुतिता फाउन्डेसनको आयोजनामा मकवानपुरको हेटौंडामा भएको जिल्ला स्तरीय सरोकारवालाहरूसंगको समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा उनीहरू यस्तो बताएका हुन् ।
आफ्नो पहिचान लुकाएर, संघर्ष गर्नु परेको, परिवारको सिङ्गो जिम्मेवारी लिन कठिन भएको बेचबिखन प्रभावितहरूले बताएका हुन । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले प्रभावितहरूको परिवारले महिलाको सशक्तीकरणमा सहयोग, साथ अनिवार्य भएको बताइन् ।
नगरपालिकाले अनुदान दिएर व्यक्तिको जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुगेको लामाले बताइन् । सीप र सिपलाई व्यवहारिक बनाउन नगरपालिका तत्पर रहेको उनले बताइन् ।
हेटौंडा उपमहानगरपालिका भित्र रहेका २८ जना बेचबिखन प्रभावितलाई सुनिता फाउन्डेसनले विभिन्न सहयोग गर्दै आएको छ । गत बर्ष र यसबर्ष गरि सुनिता फाउन्डेसनले हाल १४ जनालाई सहयोग गर्दै आएको फाउन्डेसनको मकवानपुर प्रमुख सोममाया घलानले बताइन् । जस अन्तरगत ११ जनालाई कुखुरा बाख्रा व्यवसायको लागि सहयोग गरेको छ भने, ३ जना बालबालिकालाई शैक्षिक सहयोग गरेको घलानले बताइन् ।
प्रभावितहरूलाई जिविकोपार्जनको लागि सहयोग गर्दै आएको भए पनि स्थानीय सरकारले अपनत्व लिनको लागि जिम्मेवार बनाउन पहल गर्ने गरेको फाउन्डेसनको संस्थापक सुनिता दनुवारले बताइन् ।
कार्यक्रममा गैसस बागमती प्रदेश अध्यक्ष आरती पाठक, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबा, मकवानपुर महिला समूह अध्यक्ष कमला सुवेदी, कार्यक्रम अधिकृत निशा लामा, कोशिश मकवानपुर पैरवी अधिकृत सुनिरा लामा, सेलर्डका जगन्नाथ सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

