- पुष्प अधिकारी अन्जलि
जीवनको सहज बाटो त जसले पनि हिँडछन् तर गजलकार हरि चालिसे एबिसीले गजलको एउटा अप्ठ्यारो बाटो हिँडदैछन्। गजलको राजमार्गलाई अनन्तसम्म पुर्याउन चाहन्छन् यही अप्ठ्यारो बाटो हिँडेर। समयका थुप्रै थुप्रै भिन्नभिन्न बादबिबादहरुलाई छिचोलेर एउटा सग्लो र उज्यालो जीवनको गन्तव्य खोज्दै छन् गजलको राजमार्ग बनाएर।
साठीको दशकमा चितवनमा सँगै यात्रा गरेर हिँडेका यी युवा साहित्यिक पत्रकारका रुपमा पनि सुपरिचित छन् । उनका कलमबाट जन्मिएका थुप्रै भोगाईहरु अनुभूतिहरूको एउटा लामो जुलुस छ । जसलाई हरेक राजमार्गले छोएर गएका छन्। करिब डेढ दशक लामो अवधि नेपाली गजलको संघर्षमा नेपाली गजलको क्षेत्रमा बिताएका एक जुझारु संघर्षशील गजलकार हरि चालिसे यतिखेर नेपाली गजलको क्षेत्रमा एउटा साधकका रुपमा स्थापित भैसकेका छन्। उनीसँगको धैर्यता र संयमता ले नै आज एउटा असल गजलकारको परिचय दिएको छ ।
उनी चितवनमा रहँदा गजलको क्षेत्रलाई फराकिलो बनाउन गजल सन्ध्या चितवनको अध्यक्ष भएर यो पँक्तिकारसँगै सहयात्रा गर्दै गजलमा थुप्रै ऐतिहासिक संगोष्ठी काव्य परिक्रमा र थुप्रै गजल श्रृंखलाहरु गरिसकेका छन्। यतिखेर उनको नवीनतम गजलकृति “ज्यूने रहर” बजारमा आइसकेको छ। नेपाली गजलको विकास र संरक्षणमा निरन्तर समर्पित रहिरहने यो क्रियाशीलतालाई मैले नजिकबाट नियालेको छु।
उनको गजलमा नविन चेतना र क्षमता प्रचुर मात्रामा छ। गजलमा आफ्नो सिंगो जीवन व्यतित गरी रहने संघर्षशिल स्रष्टा हरि चालिसे एबिसी निकै शसक्त गजल हस्ताक्षर हुन। उनको प्रकाशित गजल संग्रह ज्यूने रहरमा एक सय एक गजलहरू समाविष्ट छन्। सबै गजलहरु उत्तिकै प्रभावशाली छन्। देश समाज र जीवनलाई नजिकबाट नियाल्न सक्ने काव्यिक क्षमता भएका जुझारु युवा गजलकार आफ्ना गजल शेरहरुमा सामाजिक विषयवस्तुहरूलाई महत्वपूर्ण रुपमा उठान गरिरहेका छन्। उनले आफ्ना गजलमा मनोवैज्ञानिक ढङ्गले विचारहरु प्रस्तुत गरेका छन् र उनका गजलहरूमा राजनीतिक सामाजिक आर्थिक लैङ्गिक समानताको आग्रह र हार्दिकताको नवीकरण गरिएको छ।
समयको एउटा सुकिलो बिहान बोकेर झोलाभरि शब्दका बीऊहरू राखेर प्रत्येक गाँऊ बस्तीहरूमा काव्यिक चेतनाको टुकी बालेर निरन्तर हिडिरहेका स्रष्टा हुन् यी गजलकार। यतिखेर यिनको प्रभावशाली गजल सङूग्रह “ज्यूने रहर” मेरो हातमा छ । उनका गजल सङ्ग्रहमा समसामायिक आवाजहरूसंगै जीवनका सुक्ष्म सुक्ष्म बिषयबस्तुहरूलाई उठान गरिएको छ । करिव दुई दशक अगाडि शब्दयात्राको जुलुशमा भेटिएका यी प्रभावशाली गजलकार धेरै समय चितवन बसेर निरन्तर गजल साधना र सङ्घर्षमा बिताएका छन्।
गजलकारले जीवन बांच्ने र अरूलाई सहज जीवन दिने क्रममा लामो समय चितवनमा बसेरपनि आफ्नो नेपाली गजल र शब्द साहित्यका निम्ति निरन्तर आगो जस्ता सिर्जनाहरू लेखिरहे ।एउटा कुशल लेखक शालीन गजलकार हुन हरि चालिसे एबिसी। कति धैर्यता कति प्रतिबद्धता कति सङघर्ष कति साधना चाहिन्छ भन्ने कुरा गजलकार हरि चालिसेलाई अनुभूत छ। नेपाली गजलमा उनले धेरै सिके र धेरैलाई सिकाएका छन। नेपाली गजल र गजलको लय संरचना शब्द संयोजनमा निकै अब्बल देखिएका छन ।
उनका हरेक गजलका शेरहरू अर्थपूर्ण र सामाजिक रूपान्तरणको यथार्थ चित्रण छ। चितवनको लामो बसाईमा उनले सिर्जना गरेको गजलहरू कतिपय देश माटो र बा आमा अनि आफ्नी पत्निको सम्झनामा लेखेका छन।समसामायिक स्वर राजनैतिक अस्थिरता सामाजिक सांस्कृतिक र मानवीय संवेदनाका बिषयमा उठाइएको छ प्रायः गजलहरू । उनि एऊटा सचेत गजलकार हुन।
गजलकारले आफ्ना नाङगा पैतालाहरूमा देश खोजिरहेका छन। कयौं जिन्दगीका सुदूर सपनाहरू खोजिरहेका छन् । मैले उनका थुप्रै गजलहरू पढेको छु र उनको जिन्दगी पढेको छु। उनी धेरै लेख्दैनन् तर जति लेख्छन अत्यन्त गहन र भावपूर्ण र मान्छेका थुप्रै निर्जीव सपनाहरू लेख्छन् ।बिचारको पहाड अग्लो बनाएर लेख्छन्। युद्धबाट थाकेको देश, निर्दोष मान्छेहरूको रगतले पोतिएको माटो, आमाको स्नेहले निथ्रुक्कै भिजेको ममताको आंचलमा लागेको कालो दाग कहांनिर दुखेको छैन मन ? यस्तै यथार्थ चित्रण छ गजल सङ्ग्रहभित्र । गजलकारले देश छातीभित्र राखेर मानवीय संवेदना खोजिरहेको असङ्ख्य दस्तावेजहरू छन्।
उनको गजलमा गजलको शिल्प शैली र संरचनागत हिसावले मजवुत छन ।उनले कतिपय आफ्ना प्रायः गजलहरूमा प्रेमील रङहरु भरेका छन् । नयाँ घामको आगमन खोजिरहेका छन्। बाटो बिराएकाहरूलाई गजल मार्फत बाटो देखाएका छन्। यस्तै जीवनका थुप्रै आयामहरू निर्माण गरेका छन। “ज्यूने रहर” गजल कृति सबैको निम्ति एउटा दस्तावेज बनेको छ।
उनले कयौं मनहरूलाई गजल सिकाए र बने आफू गजलको अभियन्ता साधुवाद छ एबिसीलाई। यतिखेर उनी गल्कोट बाग्लुङ काँडेबासमा एउटा उच्च माध्यमिक विद्यालयको प्राचार्य भएर शैक्षिक सफलता खोजिरहेका छन्। भर्खरमात्रै उनले गल्कोट बहुमुखी क्याम्पसमा एउटा भव्य सभ्य साहित्यिक कार्यक्रम सम्पन्न गरेका छन्। अन्तमा उनको यो लामो गजलकारिता गजलको यो सुन्दर राजमार्ग अझै फराकिलो हुन सकोस। “ज्यूने रहर”गजल कृति गजल इतिहासमा एउटा उपलब्धिमूलक शोधपत्र बन्न सकोस् । सबैले सिक्नेछन उनको यो कृतिबाट।
म उनको गजलकरितालाई सलाम गर्छु। म उनको यस कृतिको पूर्ण सफलताको कामना गर्छु। हार्दिक बधाई शुभकामना हरि चालिसे एबिसी भाइलाई। साहित्यिक क्षेत्रमा थप उर्जा मिलोस्। राम्रा राम्रा कृतिहरु जन्मियोस् हृदयदेखि शुभकामना।
गजलगृह, भरतपुर, चितवन

